काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातको सटही सुविधामा संशोधन गरेको छ । आइतबार एकीकृत परिपत्र -२०८१ मा संशोधन गर्दै नयाँ सुविधा प्रदान गर्ने जनाएको हो ।
नयाँ व्यवस्था अनुसार सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रूपमा आफ्नै प्रयोजनको लागि चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर पाँच लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिनेछ । अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिनेछ । तर, महिना (वि.सं. अनुसार) मा एक पटक मात्र आयात गर्ने उद्योग र व्यवसायीको हकमा उपयुक्त सीमा क्रमशः अमेरिकी डलर बीस लाख (उद्योगको लागि) र अमेरिकी डलर चार लाख (अन्य व्यवसायीको लागि) को सीमासम्म हुनेगरी सटही सुविधा प्रदान गर्न सकिनेछ ।
चाँदीको गरगहना कलात्मक वस्तु आदि निकासी गर्ने चाँदी व्यवसायीलाई विभिन्न सटही सुविधा प्रदान गर्न सकिनेछ । जसमा निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतीतपत्र वा विदेशबाट खरिद आदेश, कागजातमा उल्लिखित मूल्य सम्मको चाँदी आयातको लागि सटही सुविधा प्रदान गर्न सकिनेछ । सोका लागि यस खण्डमा उल्लिखित चाँदी आयातमा भुक्तानीको सीमा लागू हुने छैन ।
सटही सुविधा दिने सम्बन्धित वाणिज्य बैंकले प्रत्येक पटक सटही सुविधा प्रदान गर्दा सो पूर्व सटही सुविधा प्रदान भएको भए सो अन्तर्गत चाँदी आयात भई तोकिएबमोजिम निर्यात भए नभएको यकिन गर्नु पर्नेछ ।
सम्बन्धित वाणिज्य बैंक बाहेक अन्य वाणिज्य बैंकबाट चाँदी आयातको सटही सुविधा लिई निर्यातको भुक्तानी लिन बक्यौता नरहेको सम्बन्धी स्वः घोषणा चाँदी व्यवसायीसँग लिनु पर्नेछ ।







































