वि.सं.२०८३ भदौ १५ सोमवार

जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक भोलिदेखि काठमाडौँमा सुरु हुँदै

khanepani

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को केन्द्रीय कार्यकारिणी समिति बैठक भोलिदेखि काठमाडौँमा सुरु हुँदैछ।

केन्द्रीय कार्यालय बालकुमारीमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सुरु हुने बैठक भाद्र १६ र १७ गते दुई दिनसम्म चल्नेछ।

बैठकमा पार्टीको आगामी राजनीतिक कार्यदिशासहित सङ्गठनात्मक विषयलाई मुख्य प्राथमिकतामा राखेर छलफल हुने भएको छ। जसपा नेपालका केन्द्रीय महासचिव डा. सुरेन्द्र कुमार झाले बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल हुनुका साथै पार्टी सङ्गठनलाई प्रदेशदेखि स्थानीय तहसम्म समायोजन गर्ने विषयमा निर्णयका लागि प्रस्ताव पेस हुने बताएका छन् ।

बैठकका लागि प्रदेश, जिल्ला र स्थानीय तहका पार्टी संरचनाको समायोजन तथा भ्रातृ सङ्गठनको समायोजनसम्बन्धी प्रस्ताव पनि एजेण्डामा राखिएको छ।

त्यस्तै, विभिन्न राजनीतिक दल तथा शक्तिहरूबिचको सहकार्यका लागि अघि बढाइएको अग्रगामी मोर्चा सम्बन्धमा पनि कार्यकारिणी समितिमा छलफल हुनेछ। पार्टीको संसदीय बोर्ड गठन तथा कार्यकारिणी सदस्यहरूको कार्यविभाजनसम्बन्धी प्रस्तावसमेत बैठकमा प्रस्तुत गरिने महासचिव डा. झाले बताए ।

यसैगरी, हालैका बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत सङ्कलन गर्ने विषयमा पनि बैठकमा छलफल हुने एजेण्डा तय गरिएको छ।

जसपा नेपालले बैठकमार्फत पार्टीको राजनीतिक तथा सङ्गठनात्मक संरचनालाई थप व्यवस्थित बनाउने र आगामी राजनीतिक गतिविधिका लागि आवश्यक निर्णय लिने तयारी गरेको छ। बैठकमा प्रस्तुत हुने प्रस्तावमाथि छलफलपछि आवश्यक निर्णय गरिने पार्टीले जनाएको छ।

ranechhap