बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सचेत, अनुशासित र जिम्मेवार बनाउन सके सवारी दुर्घटनामा उल्लेख्य कमी ल्याउन सकिने बताएका छन्।
दाङको लमहीमा मंगलबार आयोजित प्रदेशस्तरीय सडक सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको र त्यसमा विशेषगरी १६ देखि ३० वर्ष उमेर समूहका युवाको संलग्नता तथा क्षति बढी देखिएको बताए। उनले यसलाई प्रदेशकै ठुलो चुनौती र चिन्ताको विषयका रूपमा उल्लेख गरे।
मुख्यमन्त्री आचार्यले विद्यालय तहदेखि नै सडक सुरक्षा सम्बन्धी सचेतना र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए। संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्य गरी युवालाई सडक सुरक्षासम्बन्धी प्रशिक्षण दिँदै अनुशासित र जिम्मेवार बनाउनुपर्ने उनको भनाइ थियो।
प्रदेश सरकारले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि आवश्यक साझेदारी गर्न तयार रहेको पनि उनले बताए।
दाङ, बाँके, कपिलवस्तु र रुपन्देहीमा सवारी दुर्घटना बढी हुने गरेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति र लागूऔषधको प्रयोग दुर्घटनाका प्रमुख कारण रहेको बताए।
पुराना सवारीसाधन, गुणस्तरहीन सडक र चालकको लापरबाहीका कारण पनि दुर्घटना बढिरहेको उल्लेख गर्दै उनले प्राविधिक रूपमा उपयुक्त र गुणस्तरीय सडक निर्माणमा ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीले गुणस्तरीय सडक निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए।
आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिरले सवारी दुर्घटना न्यूनीकरणका लागि नियम–कानुनको इमान्दारीपूर्वक पालना गर्नुपर्ने र सडक सुरक्षासम्बन्धी प्रशिक्षण तथा सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।
प्रदेश नीति तथा योजना आयोगका फोकल पर्सन शंकरसिंह धामीले लुम्बिनी प्रदेशको पाँच वर्षको सडक दुर्घटना विश्लेषण प्रस्तुत गर्दै आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म प्रदेशमा ७ हजार ८ सय ६६ सवारी दुर्घटना भएको जानकारी दिए।
ती दुर्घटनामा २ हजार ५ सय २५ जनाको मृत्यु भएको छ भने ५ हजार ४ सय १६ जना गम्भीर र ६ हजार ८ सय ४ जना सामान्य घाइते भएका छन्।
दुर्घटनामा संलग्न सवारीसाधनमध्ये ६ हजार २ सय ७१ वटा दुईपाङ्ग्रे सवारी रहेका छन्, जुन कुल दुर्घटनाको करिब ५७ प्रतिशत हो। अधिकांश दुर्घटना साँझ ६ बजेदेखि मध्यरातसम्म हुने गरेका छन् भने करिब ९० प्रतिशत दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको विश्लेषणमा उल्लेख छ।
कार्यक्रममा प्रमुख सचिव कृष्णप्रसाद काप्रीसहित विभिन्न मन्त्रालय, सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।





































