काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको तातोपानी भन्सार नाकाबाट खुलेआम अबैधधन्दा चलाउदै आएका शिल्क ग्रुप प्रालिका अध्यक्ष रमेश शेर्पा सहित १२ जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरिएको छ ।
तातोपानी नाका हुँदै अवैध रूपमा नेपाल भित्राइएको विद्युतीय चुरोट (भेप) को अर्बौं राजस्व छली गरेको अनुसन्धानबाट भेटिएपछि उनी विरुद्ध मुद्दा दायर गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ । तातोपानी नाकामा भन्सार कर्मचारीकै सहयोगमा आयात–निर्यातको समेत एकछत्र राज गर्दै आएका शिल्क ग्रुप विरुद्ध विभागले १ अर्ब ७४ करोड ६२ लाख ४७ हजार बिगो र ५ वर्ष सम्मको कैद सजायको माग सहित मुद्दा दायर गरेको बताइएको छ । भन्सार छलेर ल्याएको अवस्थामा २०८१ पुस २२ गते ललितपुरको महालक्ष्मी–४ बाट ८६ हजार ४ सय थान भेप विभागले बरामद गरेको थियो ।
अनुसन्धानको क्रममा राजश्व समेत अवैध कारोबार गर्दे आएको तथ्य र प्रमाण भेटिएपछि अदालतमा मुद्दा दायर गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले बताएका छन् । उनले भेप बरामदपछि राजश्व अनुसन्धानले ललितपुरको बालकुमारीमा रहेको शाखा कार्यालय र काठमाडौंको नक्सालस्थित कर्पोरेट कार्यालयमा छापा मारेको समेत बताएका छन् । साँढे ५ महिनाको अनुसन्धान पछि शिल्कले भेपमात्रै नभई अन्य सामग्रीमा करोडौ राजश्व छलेको प्रमाण भेटिएकाले मुद्दा दायर गरिएको विभागले जनाएको छ । रमेश र उनका भिनाजुसमेत रहेका कर्मचारी विजय शेर्पाको भेप चोरी पैठारीमा मूख्य भूमिका देखिएको अधिकारीले बताएका छन् ।
विजय तातोपानी नाकामा केन्द्रित भई भन्सार, राजनीतिक दलका नेता, पत्रकारलाई समेत प्रभावमा पार्दै आएका व्यापारी हुन । शिल्क ग्रुप र सो अन्तर्गतका ७ वटा कम्पनीमार्फत शेर्पाले अबैध कारोबार गर्दै आएको समेत भेटिएको छ । सिल्कले भेप राख्न प्रयोग गरेको गोदामका सञ्चालक महेशप्रसाद पाठक र सिल्ककै कर्मचारी सन्तोष पराजुलीलाई मतियारका रुपमा मुख्य अभियुक्तभन्दा आधा सजाय माग गरिएको छ । सबै प्रतिवादी फरार रहेकाले उनीहरूको नाममा म्याद काट्ने तयारी भइरहेको जिल्ला अदालत ललितपुरका श्रेस्तेदार शैलेन्द्र खतिवडाले जानकारी दिएका छन् । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–६ गाती स्थायी घर भएका रमेश शेर्पाका बाबु पहिला तातोपानी नाकामा समान्य व्यापार गर्दै आएका थिए ।
कोरोना महामारीको बेला लकडाउन गरेपछि स्थानीय प्रशासनलाई समेत प्रभावमा पारेर शेर्पाले चीनबाट दैनिक जसो सुन भित्राएर करोडौंको मलिक बनेको उनी निकट व्यापारीहरू बताउँछन् । पैसा कमाउँदै गएपछि शेर्पाको चिनियाँ र भारतीय व्यापारीहरूसँग सीधा सम्पर्क सुरू गरेका थिए । उनका भिनाजु विजय नाकामा बसेर सेटिङ मिलाउने र रमेश काठमाडौंमा बसेर प्रमुख दलका नेतादेखि कर्मचारी र प्रहरी प्रशासन मिलाउदै अबैधधन्दा चलाउदै आएका थिए । सामान्य परिवारका शेर्पा एकाएक तातोपानी भन्सार कार्यालयका कर्मचारीलाई समेत अघिपछि लगाउदै उनले भनेकै अनुसार भन्सार कार्यालयको कार्यसम्पादनमा समेत रमेशकै अनुसार गरिदै आएको आरोप समेत लगाइएको छ ।
रमेशको सम्बन्ध सिन्धुपाल्चोकमा कांग्रेस नेता मोहन बस्नेत, माओवादी अध्यक्ष प्रचण्ड पुत्री गंगा दाहाल, सिन्धुपाल्चोक क्षेत्र नम्बर १ कै माओबादी साँसद माधब सापकोटा सुबोध लगायत एमाले नेतासंग समेत उनको राम्रो हिमचिम रहेको छ । चीनबाट रासायनिक मल ढुवानी गर्ने वहानामा अर्बको सुन आयात गरि मल तातोपानी भन्सार यार्डमै अलपत्र छोडेर हिड्ने समेत अबैध काम शेर्पाले गरेका थिए । सो कार्यमा समेत सरकारी निकायले अहिलेसम्म कुनै कारबाही समेत गरेको छैन ।।






































