काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित ऐतिहासिक पलाञ्चोक भगवतीको मूर्तिमा शनिबार साँझको आरतीको समयमा पसिना देखिएको छ। मन्दिर व्यवस्थापन उपसमितिका पूर्वसंयोजक किरण श्रेष्ठका अनुसार देशमा कुनै ठूलो राजनीतिक संकट वा दैवी विपत्ति आउनुअघि भगवतीको मूर्तिमा यस्ता अनौठा संकेत देखिने र पसिना आउने जनविश्वास छ।
यसअघि १९९० सालको महाभूकम्प, २०५८ सालको दरबार हत्याकाण्ड, २०७२ को विनाशकारी भूकम्प, जेनजी आन्दोलन तथा २०८१ को बाढीपहिरोजस्ता संकटका बेला पनि मूर्तिमा पसिना आएको स्थानीय बताउँछन्। शनिबार मूर्तिमा पसिना देखिएपछि विधिपूर्वक स्नान गराई तान्त्रिक पद्धतिबाट क्षमा पूजा सम्पन्न गरिएको छ।
इस्वी संवत् ४२५ (करिब १,६५५ वर्ष पहिले) स्थापना भएको मानिने पलाञ्चोक भगवतीलाई चार भगवती दिदीबहिनीमध्ये ‘जेठी दिदी’ का रूपमा पुजिन्छ। किंवदन्तीअनुसार एकै मूर्तिकारले दाहिने हातले पलाञ्चोक र नाला भगवती, देब्रे हातले नक्साल भगवती तथा गोडाले शोभा भगवतीको मूर्ति कुँदेका थिए। दाहिने हातबाट निर्मित र सबैभन्दा पुरानो भएकाले पनि पलाञ्चोक भगवतीको धार्मिक तथा पर्यटकीय महत्त्व उच्च रहेको मानिन्छ।
सुरुमा बुच्चाकोटमा रहेको यो मूर्ति स्थानीय वृद्धको सपनाको आदेशअनुसार उत्तरतर्फ सार्ने क्रममा हालको स्थानमा आइपुगेको थियो। रात परेपछि राखिएको मूर्ति भोलिपल्ट बिहान ६० घरधुरीका स्थानीयले प्रयास गर्दा पनि उठाउन नसकेपछि सोही ठाउँमा मन्दिर स्थापना गरिएको जनश्रुति छ।
बडादशैंको नवरात्रमा हाँस, बोका र राँगाको बलीसहित विशेष पूजा हुने यस मन्दिरमा वैशाख पूर्णिमा, जेठ पूर्णिमा र माघे सङ्क्रान्तिमा ठूलो मेला लाग्छ भने वैशाख पूर्णिमा र दशैंको एकादशीका दिन रथयात्रा गरिन्छ। पृथ्वीनारायण शाहको एकीकरणपछि मन्दिरको नित्यपूजाका लागि पुजारी, रथ बोक्न तथा फूल ल्याउन पहरी, बलि दिन कसाइ र बाजा बजाउन कुस्ले समुदायलाई जिम्मेवारी तोकिएको व्यवस्था आजसम्म निरन्तर छ।






































