काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढी तथा वर्षाका कारण पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार धादिङको गजुरीदेखि गल्छीसम्मका विभिन्न स्थानमा ठूलो मात्रामा लेदो जमेकाले सवारी आवागमन तत्काल सञ्चालन गर्न सकिने अवस्था छैन। सडकको जोखिमपूर्ण अवस्थालाई मध्यनजर गर्दै प्रहरीले अर्को सूचना जारी नभएसम्म यात्रा नगर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सबैमा आग्रह गरेको छ।
यसैबीच, मुग्लिन क्षेत्रमा बाढीपछि जारी खोजी तथा उद्धारका क्रममा हालसम्म ४० जनाको शव फेला परेको छ। हिजो रातिसम्म ३९ जनाको शव फेला परेकोमा आज बिहान थप एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ। तीव्र बहावले मानिस तथा अन्य सामग्री बगाएर ल्याएको हुन सक्ने अनुमानसहित मुग्लिन आसपासका क्षेत्रमा खोजी कार्य अझै जारी राखिएको छ। सडकमा जमेको लेदो पन्छाएर यातायात सुचारु गर्ने प्रयास भइरहे पनि स्थिति सामान्य नहुन्जेल सवारी सञ्चालन गर्न कठिन हुने प्रहरीको भनाइ छ।







































