वि.सं.२०८३ भदौ ११ बिहीवार

नेपालको बाढीप्रति जापानी प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, बेपत्ता ५ जापानी नागरिकको खोजीमा सहयोग गर्न अपिल

khanepani

काठमाडौँ । जापानी प्रधानमन्त्री सानाए ताकाइचीले नेपालमा आएको भीषण बाढी र त्यसले पुर्‍याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेकी छन्।

बाढीका कारण ५ जना जापानी नागरिक बेपत्ता भएको खबरले आफूलाई अत्यन्तै चिन्तित बनाएको उनले सामाजिक सञ्जाल एक्समार्फत बताएकी छन्। नेपालस्थित जापानी दूतावासले ती नागरिकहरूसँग निरन्तर सम्पर्कको प्रयास गरिरहे पनि हालसम्म सफल हुन नसकेको उनले जानकारी दिएकी छन्।

प्रधानमन्त्री ताकाइचीले सामाजिक सञ्जालमार्फत अपिल गर्दै भनेकी छन्, “जापानको समयअनुसार बिहान ३:३० बजेसम्म मलाई त्यहाँको सञ्चार अवस्थाबारे पूर्ण जानकारी छैन; यदि त्यस क्षेत्रमा यो पोस्ट देख्ने कसैलाई उनीहरूको सुरक्षा वा अवस्थाबारे जानकारी छ भने कृपया नेपालस्थित जापानी दूतावासमा खबर गरिदिनुहोला।”

सूचना उपलब्ध गराउनका लागि उनले दूतावासको सम्पर्क नम्बर (+९७७-१-४५२६-६८०) समेत सार्वजनिक गरेकी छन्। साथै, उनले आफ्ना नागरिक, नेपाली जनता तथा नेपालमा रहेका सम्पूर्ण विदेशी नागरिकहरूको सुरक्षा र अमूल्य जीवन रक्षाको कामना गरेकी छन्।

ranechhap