वि.सं.२०८३ साउन १५ शुक्रवार

समस्या समाधान गर्न सरकार योजनाबद्ध रूपमा लागेको छ : प्रधानमन्त्री बालेन्द्र शाह

khanepani

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्‌भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट पारेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग आज भएको छलफलमा प्रधानमन्त्री शाहले सो कुरा बताएका हुन् ।

उनले राज्य संयन्त्रका सम्पूर्ण अङ्गहरू उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयमता अपनाउन आग्रह गरे । प्रधानमन्त्री शाहले सरकारको प्राथमिक ध्यान प्रभावित नागरिकसम्म पुग्नु, उनीहरूलाई सुरक्षाको प्रत्याभूति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नुमा रहेको बताए ।

शान्ति–सुरक्षालाई चुस्त–दुरुस्त राख्न र परिस्थितिलाई थप बिग्रन नदिन सरकारले बहुपक्षीय रणनीति अपनाएको प्रधानमन्त्री शाहले बताए ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले सबै सांसदहरूलाई आ–आफ्ना निर्वाचन क्षेत्रमा आत्मविश्वासका साथ पुगेर नागरिक र राज्यबिच सद्‌भाव बलियो पुल बन्न आह्वान गरे । प्रधानमन्त्री शाहले अप्ठ्यारो र आपत्कालीन परिस्थितिमा जनताको घरदैलोमा पुगेर उनीहरूको दुःख–सुखमा उभिनु नै सांसदहरुको वास्तविक दायित्व भएको स्मरण गराए ।

बैठकमा सांसदहरूले आफूहरू तत्कालै आ–आफ्ना निर्वाचन क्षेत्रमा खटिने प्रतिबद्धता जनाएका छन्। उनीहरूले बिहीबार प्रधानमन्त्री शाहले राष्ट्रका नाममा गरेको सम्बोधनले देशैभर र विशेष गरी प्रभावित क्षेत्रका नागरिकमा सकारात्मक सन्देश, विश्वास र भरोसा जगाएको समेत उल्लेख गरे ।

स्थानीय स्तरमा दीर्घकालीन शान्ति र भ्रातृत्व कायम राख्नका लागि दुवै पक्षका धार्मिक गुरुहरू, नागरिक समाज, बुद्धिजीवी र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूसँग सघन संवादको शृङ्खलालाई निरन्तरता दिनुपर्ने सुझाव सांसदहरूले प्रस्तुत गरेका थिए । साथै, तनावग्रस्त तथा आसपासका क्षेत्रहरूमा धार्मिक तथा सामाजिक सौहार्द कायम राख्ने गरी निरन्तर सकारात्मक र ऐक्यबद्धताको सन्देश प्रवाह गर्नुपर्ने तथा सामाजिक सञ्जालका भ्रम र अफवाहबाट युवा वर्गलाई जोगाउन स्थानीय स्तरमा जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकतामा सांसदहरूले जोड दिएका छन् ।

ranechhap