काठमाडौँ । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाबारे छानबिन गर्न गठित समितिले छानबिन सकेर प्रतिवेदन बुझाएको छ ।
देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बिचमा साउन १० मा भएको झडपको असर मधेस प्रदेशमा पनि फैलिएको थियो ।
कप्तानगञ्जमा भएको झडपमा ३ जनाको मृत्यु भएको थियो । सुनसरीमा गोली लागेर कप्तानगञ्जका ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रवीन्द्र मेहताले ज्यान गुमाएका थिए ।
१४ मा भएको प्रदर्शनमा प्रहरीसँग झडप हुँदा १८ वर्षीय गणेश यादवको मृत्यु भएको थियो । सरकारले छुट्टाछुट्टै समिति गठन गरेर घटनाबारे स्थलगत अध्ययन र छानबिन गरेको थियो ।
दुवै समितिले मंगलबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले बताए । उनले भने, ‘दुईवटा समितिबाट छानबिन प्रतिवेदन आएको छ, त्यसमा भएको निष्कर्ष र सिफारिस अध्ययनको क्रममा छ ।’
कप्तानगञ्ज घटनाबारे गृह मन्त्रालयका सह सचिव भूपेन्द्र थापा नेतृत्वको समितिले छानबिन गरेको थियो । सिरहाको गोलबजारमा भएको घटनाबारे गृहका अर्का सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले छानबिन गरेर सिफारिस सहितको प्रतिवेदन बुझाएको हो ।







































