वि.सं.२०८३ भदौ ११ बिहीवार

रसुवा–नुवाकोटमा थप बाढी आउने हल्ला निराधार, सतर्क रहन महाशाखाको आग्रह

khanepani

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले रसुवा–नुवाकोट क्षेत्रबाट थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएका अपुष्ट सूचना तथा हल्लामा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। पछिल्लो समय त्यस क्षेत्रबाट निरन्तर ठूलो बाढी आउने भन्दै सामाजिक सञ्जाल र फोनमार्फत भ्रम फैलिएपछि महाशाखाले प्रारम्भिक विश्लेषण सार्वजनिक गर्दै स्थिति स्पष्ट पारेको हो।

महाशाखाका अनुसार प्रभावित क्षेत्रमा वर्षा जारी रहेकाले नदी तथा खोलाको बहाव केही बढ्न सक्ने भए पनि बिहान देखिएको जस्तो थप विनाशकारी बाढी आउने कुनै सम्भावना र विश्वसनीय आधार छैन। यसर्थ, बाढी प्रभावित क्षेत्रभन्दा बाहिर सुरक्षित स्थानमा रहेका नागरिकहरूलाई अनावश्यक रूपमा नआत्तिन र संयमित रहन आग्रह गरिएको छ।

सीमा क्षेत्र वा अन्य स्थानबाट नेपालतर्फ थप ठूलो बाढी प्रवेश गर्ने अवस्था देखिएमा सुरक्षा निकायहरूसँग समन्वय गरी मोबाइल सन्देश (SMS) तथा अन्य सञ्चारमाध्यमबाट तत्काल पूर्वसूचना जारी गरिने महाशाखाले स्पष्ट पारेको छ। जोखिम पूर्ण रूपमा नटरेकाले सतर्कता अपनाउन र सामाजिक सञ्जालका अपुष्ट सूचनाभन्दा आधिकारिक स्रोतलाई मात्र आधार मान्न महाशाखाले अनुरोध गरेको छ।

ranechhap