काठमाडौं । आज भोटेकोशी नदीमा आएको ठुलो आकस्मिक बाढीले जनधनको ठूलो क्षति भएको अवस्थामा काठमाडौं महानगरपालिकाका विपद व्यवस्थापन समितिको बैठक बसेर आफ्नो भूमिकाको तयारीका विषयमा छलफल गरेको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बैठक बसेकाे हाे ।
बैठकले प्रतिकार्य सञ्चालन गर्ने, समन्वय र सहजीकरणका लागि समितिका सदस्यसचिव एवम् विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपाललाई तोक्ने निर्णय गरेको छ ।
काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेका ४ वटा एम्बुलेन्स नुवाकोटतर्फ पठाइएको छ । २ वटा एम्बुलेन्स त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा तयारी अवस्थामा राखिएको छ ।
काठमाडौं महानगरपालिका अन्तर्गत कार्यरत चिकित्सक लगायतका स्वास्थ्यकर्मीहरुलाई परिचालन गर्ने र घाइते विरामीहरुका लागि आवश्ययकता अनुसार औषधि उपलव्ध गराउने समितिले निर्णय गरेको छ ।
महानगरपालिका आपतकालीन सञ्चालन केन्द्रमा मौज्दात रहेको विपद व्यवस्थापनमा प्रयोग हुने सामग्रीहरु आवश्यकता अनुसार प्रदान गरिनेछ । सामान तथा औषधि अपुग हुने देखिएमा विपद व्यवस्थापन कोषवाट खरिद गरेर उपलव्ध गराउने समितिले निर्णय गरेको छ ।







































