काठमाडौं । काठमाडौंमा रात्रिकालीन यातायात सेवा विस्तार गर्न अन्तरनगर यातायात सञ्जाल विकास गरिने भएको छ। काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले उपत्यकाका स्थानीय तहको सहभागिता सुनिश्चित गरी दिगो र व्यवस्थित रात्रिकालीन यातायात प्रणाली स्थापना गर्ने तयारी भइरहेको बताएकी छन् ।
२०८३ वैशाख १ गतेदेखि काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा सञ्चालन गरेको रात्रिकालीन यातायात सेवाको प्रभाव तथा सेवा विस्तारसम्बन्धी अध्ययन र सिफारिस कार्यदलले बुझाएको प्रतिवेदनको सार सार्वजनिक गर्दै उहाँले यस्तो बताएकी हुन् ।
काठमाडौँ महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा गठित समितिले अध्ययन गरेको हो। समितिमा महानगरपालिकाका वरिष्ठ लेखा अधिकृत विपुल तिवारी, सिभिल इन्जिनियर आँचल आचार्य, साझा यातायातका सहायक प्रबन्धक इन्जिनियर जनक रिसाल र यातायात व्यवस्थापन अधिकृत शंकर बस्याल सदस्य थिए।
तीन महिनामा ६६ हजारभन्दा बढी यात्रुले लिए सेवा
परीक्षणकालीन तीन महिनाको अवधिमा ६६ हजार ९५२ यात्रुले रात्रिकालीन यातायात सेवा लिएका छन्। अध्ययन अनुसार एउटा बसले दैनिक औसत १४२ यात्रु बोक्ने गरेको छ। यसबाट प्रतिदिन प्रतिबस औसत ३ हजार १३४ रुपैयाँ आम्दानी हुने गरेको छ भने एउटा बसको दैनिक सञ्चालन लागत ४ हजार ८१४ रुपैयाँ रहेको छ।
यस आधारमा प्रतिदिन प्रतिबस १ हजार ६९० रुपैयाँ अर्थात् करिब ३५ प्रतिशत घाटा हुने गरेको प्रतिवेदनले देखाएको छ।
यात्रुको चाप राति ८ बजेदेखि ९ बजेसम्म सबै भन्दा बढी देखिएको छ। उक्त समयमा कार्यालयबाट ढिलो फर्कने कर्मचारी, श्रमिक तथा दैनिक ज्यालादारी गर्ने मजदुरको संख्या बढी रहेको अध्ययनले देखाएको छ।
थानकोट–एयरपोर्ट रुटमा बढी यात्रु
रुट अनुसार यात्रुको चाप हेर्दा थानकोट–एयरपोर्ट रुटमा ५१।५५ प्रतिशत र बुढानीलकण्ठ–लगनखेल रुटमा ४८।४५ प्रतिशत यात्रुको भार देखिएको छ।
रात्रिकालीन यातायात प्रयोग गर्ने यात्रुमध्ये ४७ प्रतिशतले पाँच किलोमिटरभित्रको छोटो दूरीमा यात्रा गरेका छन्। ३२ प्रतिशतले मध्यम दूरी र २१ प्रतिशतले लामो दूरीको यात्रा गरेका छन्।
हाल छोटो दूरीको भाडा २० रुपैयाँ, मध्यम दूरीको २५ रुपैयाँ र लामो दूरीको ३० रुपैयाँ कायम गरिएको छ।
बस संख्या ७ बाट २८ पुर्याउने प्रस्ताव
हाल सात वटा विद्युतीय बसमार्फत दुईवटा रुटमा रात्रिकालीन सेवा सञ्चालन भइरहेको छ। कार्यदलले सेवा विस्तार गर्दै बस संख्या २८ पुर्याउन सिफारिस गरेको छ।
प्रस्तावित नयाँ रुटमा गोदावरी–बुढानीलकण्ठ, चक्रपथ (रिङरोड)मा दोहोरो सेवा, जगाती–ठमेल र कीर्तिपुर–नेपाल वायुसेवा निगमसम्मका रुट रहेका छन्। यी रुटमार्फत उपत्यकाका प्रमुख अस्पताल, व्यावसायिक केन्द्र तथा नाकाहरूलाई जोड्ने योजना छ।
रात्रिकालीन प्रिमियम भाडादेखि लागत साझेदारीसम्म
रात्रिकालीन यातायात सेवलाई आर्थिक रूपमा दिगो बनाउन कार्यदलले तीनवटा मुख्य विकल्प प्रस्ताव गरेको छ।
पहिलो विकल्पका रूपमा रात्रिकालीन समयमा कर्मचारीको अतिरिक्त भत्ता तथा प्राविधिक खर्च बढी हुने भएकाले हालको भाडामा १२ रुपैयाँ थप गरी ‘रात्रिकालीन प्रिमियम रेट’ कायम गर्न सुझाव दिइएको छ।
दोस्रो विकल्पमा सेवाबाट हुने कुल घाटाको ५० प्रतिशत रकम आठवटा नगरपालिकाले समान रूपमा व्यहोर्ने र बाँकी ५० प्रतिशत रकम नगरपालिकाको आकार, जनघनत्व तथा सञ्चालन दूरीका आधारमा बाँडफाँड गर्ने ‘भाइबिलिटी ग्याप फन्डिङ’ मोडल प्रस्ताव गरिएको छ।
तेस्रो विकल्पमा यात्रुले वास्तविक अवस्थिति र समयतालिका हेर्न सक्ने प्रविधिको प्रयोग, सेवा प्रवर्द्धन तथा यात्रुमा विश्वास र भरोसा बढाउने कार्यक्रममार्फत थप स्रोत जुटाउने सुझाव दिइएको छ।
महिला, ज्येष्ठ नागरिक र पर्यटकको सुरक्षामा जोड
प्रतिवेदनले रात्रिकालीन यातायात सेवामा महिला, ज्येष्ठ नागरिक तथा पर्यटकको सुरक्षालाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।
यसका लागि बसभित्र सीसीटीभी क्यामरा, जीपीएस ट्र्याकिङ तथा ‘डेडिकेटेड’ बस स्टपको व्यवस्था गर्न सुझाव दिइएको छ।
काठमाडौँ, ललितपुर, बुढानीलकण्ठ, चन्द्रागिरि, सूर्यविनायक, मध्यपुर थिमि, गोदावरी र कीर्तिपुर नगरपालिकाको सक्रिय सहभागितामा सेवा विस्तार गर्न सके उपत्यकाको रात्रिकालीन अर्थतन्त्र चलायमान हुनुका साथै निजी सवारीसाधनमाथिको निर्भरता घट्ने प्रतिवेदनमा उल्लेख छ।
संघीय राजधानीको सार्वजनिक यातायातलाई व्यवस्थित गर्न ‘शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण’मार्फत यसको नियमन तथा सुशासन कायम गर्न सकिने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।
सुरुवाती तीन महिना (वैशाख–असार) मा सात वटा विद्युतीय बसमार्फत दुईवटा रुटमा सञ्चालन गरिएको रात्रिकालीन यातायात सेवा अब उपत्यकाका आठवटा नगरपालिकालाई समेट्ने गरी विस्तार गर्न कार्यदलले सिफारिस गरेको छ।







































