काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले सीमावर्ती क्षेत्रमा बढ्दो प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न नेपाल, चीन र भारत सम्मिलित ‘संयुक्त हिमालय विपद् निगरानी तथा अनुसन्धान संयन्त्र’ तत्काल स्थापना गर्न सरकारसँग माग गरेको छ। पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले विपद् सम्बन्धी विशेष प्रस्ताव पारित गरेको हो।
विपद्का बेला हिमनदी, हिमताल, भूकम्पीय गतिविधि, मौसम, नदीको बहाव तथा जलवायु परिवर्तनका कारण भू–आकृतिमा आउने फेरबदलसम्बन्धी तथ्याङ्कहरू वास्तविक समय(रियल टाइम) मा आदानप्रदान गर्न यस्तो संयन्त्र अपरिहार्य भएको पार्टीको ठहर छ।
प्रस्तावमा नेपाल–चीन, नेपाल–भारतसँग त्रिदेशीय स्थायी संयन्त्र बनाएर त्यसको नियमित बैठक बस्नुपर्ने र संयुक्त वैज्ञानिक टोलीमार्फत नियमित क्षेत्रीय अध्ययन तथा अनुगमन गरिनुपर्ने उल्लेख छ। साथै, सीमापार विपद्बाट हुने जनधनको क्षति रोक्न द्विदेशीय र त्रिदेशीय पूर्वसूचना प्रणाली(अर्ली वार्निङ सिस्टम) तथा पूर्वतयारीका कार्यहरू तत्काल अघि बढाउन सरकारलाई आग्रह गरिएको छ।







































