काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक र विनाशकारी बाढीका कारण भएको ठुलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
अध्यक्ष दाहालले मंगलबारको राष्ट्रिय सभा बैठकमा रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लाका तटीय क्षेत्रमा बाढीले पुर्याएको क्षतिले राष्ट्रिय सभालाई गम्भीर र मर्माहत बनाएको उल्लेख गरेका हुन्।
अध्यक्ष दाहालले नेपाल बाढी, पहिरो, भूकम्प र महामारी जस्ता प्राकृतिक एवं मानव सृजित विपद्को उच्च जोखिममा रहेको स्मरण गराए ।
विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका अत्यन्त न्यून भए पनि जलवायु परिवर्तनको प्रतिकूल प्रभाव भोग्ने देशहरूको अग्रपङ्क्तिमा नेपाल पर्नु दुःखद यथार्थ रहेको उनले बताए ।
यस दुखद घडीमा ज्यान गुमाउने नेपाली तथा मित्रराष्ट्रका नागरिकहरूप्रति राष्ट्रिय सभाको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष दाहालले शोकसन्तप्त परिवारजन र सम्पूर्ण राष्ट्रप्रति गहिरो समवेदना व्यक्त गरे ।
साथै, बाढीमा परी सम्पर्कविहीन भएका स्वदेशी तथा विदेशी नागरिकहरू छिटो सम्पर्कमा आउने कामना समेत गरे ।
आफ्नो ज्यानको जोखिम मोलेर खोज, उद्धार, उपचार र राहत कार्यमा अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूलाई उहाँले विशेष धन्यवाद दिए । यस्तै, मानवीय उद्धारमा सहयोग पुर्याउने मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायप्रति राष्ट्रिय सभाको तर्फबाट आभार प्रकट गरिएको छ।
अध्यक्ष दाहालले सङ्घीयताको मर्म र संविधानको भावना अनुरूप विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय तहका सरकारले एकीकृत र समन्वयात्मक ढङ्गले काम गर्नुपर्नेमा जोड दिए ।
विपद्को यस कठिन समयमा सबै निकायले आ आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने उनले विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले क्षतिको वास्तविक विवरण सङ्कलन गरिरहेको र यस विपद्को घडीमा सबै पक्षलाई एकजुट हुन उनले अपिल गरे ।







































