काठमाडौं । पूर्वमन्त्री जनार्दन शर्माले भोटेकोशीमा आएको भीषण बाढीबाट पीडित परिवारको आँसु पुछ्न सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन्।
भाद्र १० गते भोटेकोशीमा आएको बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै शर्माले विपत्तिले कैयौँ परिवार क्षणभरमै उजाडिएको बताएका हुन्।
सोमबार सामाजिक सञ्जालमार्फत उनले बाढीमा ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। उनले बेपत्ता नागरिकको खोज तथा उद्धारलाई निरन्तरता दिन र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
शर्माले अहिलेको राष्ट्रिय विपत्ति कुनै एउटा भूगोल वा समुदायको मात्र नभई सिंगो राष्ट्रको साझा पीडा भएको बताएका छन्। ठूला विपत्तिमा नेपालीहरू एकजुट भएर उभिँदै आएको स्मरण गर्दै उनले अहिले पनि आपसी एकता कायम गरी पीडालाई शक्ति र दृढ संकल्पमा बदल्नुपर्नेमा जोड दिएका छन्।
उनले उद्धार, राहत र पुनर्स्थापनाका लागि सबैले हातेमालो गर्नुपर्ने बताएका छन्। पीडित परिवारको दुःखमा साथ दिन र उनीहरूको आँसु पुछ्न सबै जहाँ भए पनि त्यहीँबाट एकजुट हुनुपर्ने शर्माको भनाइ छ।







































