काठमाडौं । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको आरोपमा नापी कार्यालय कलंकीका तत्कालीन दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीमा तत्कालीन समयमा सर्भेक्षक पदमा कार्यरत अमित कुमार श्रेष्ठ र नापी अधिकृत हिरालाल पार्धेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ मा रहेको जग्गा हालसाबिक गरी प्लट मिलान गरिदिने भन्दै उनीहरूले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेका थिए।
अनुसन्धानका क्रममा नियम अनुसार गर्नुपर्ने काम नगरी सेवाग्राहीलाई दुःख–हैरानी दिँदै दुवै कर्मचारीले घुस रकमका लागि बार्गेनिङ गरेको पुष्टि भएको अख्तियारले जनाएको छ।
श्रेष्ठ र पार्धेले आफूहरूले घुस रकम प्राप्त गर्ने र कानुनी कारबाहीबाट समेत उन्मुक्ति पाउने गलत उद्देश्य राखेको अख्तियारको दाबी छ। उनीहरूले आफूले प्रत्यक्ष रकम नलिई कार्यालय सहयोगीलाई दिन लगाउने गरी ५० हजार रुपैयाँ लिन मन्जुर गरेकोसमेत अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ।
उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)बमोजिमको कसुर भएको ठहर गर्दै अख्तियारले दुवै जनाविरुद्ध ५० हजार रुपैयाँ बिगो कायम गरेको छ।
आयोगले उनीहरूलाई भ्रष्टाचार निवारण ऐनबमोजिम कैद तथा बिगो बराबर जरिवानाको मागदाबी गर्दै आज विशेष अदालतमा आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।







































