18, May, 2024

सुन प्रकरणमा परेको नुवाकोटको प्रहरी प्रमुख संजय सिंग थापाको पद खोसियो

बागमती भ्वाइस
बागमती भ्वाइस
३ चैत्र २०८०, शनिबार ११:११ | २ महिना अगाडी

काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले कारबाही सिफारिसमा परेका नुवाकोटका जिल्ला प्रहरी प्रमुख सञ्जयसिंह थापाको जिम्मेवारी खोसिएको छ ।

सुन तस्करीको अनुसन्धानबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले बिहीबार प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा सुन तस्करीबारे अनुसन्धानमा सीआईबीबाट गम्भीर त्रुटि भएको निष्कर्ष निकालिएको छ ।

त्यसक्रममा सीआईबी प्रमुख किरण बज्राचार्य, एसपी थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही सिफारिस भएको छ । कारबाही सिफारिस भएपछि थापालाई नुवाकोट प्रहरी प्रमुखबाट शुक्रबार हटाइएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले बताए । डीएसपी दाहाल र कुँवरलाई पनि प्रहरी प्रधान कार्यालय तानिसकिएको छ । सीआईबी प्रमुख बज्राचार्यलाई पनि त्यहाँबाट हटाएर नयाँ प्रमुख पठाइएको छ ।

नुवाकोटबाट हटाइएका एसपी थापा र डीएसपी दाहालमाथि सुन तस्करी प्रकरणका अभियुक्त जीवन चलाउनेसँग ६० लाख रुपैयाँ मागेको आरोप समेत छ । सीआईबीमा हुँदा उनले सुन तस्करीबारे अनुसन्धानको नेतृत्व गरेका थिए । चलाउनेलाई एसपी थापाको कोठामा कागज गराएर अधिकृतहरुले छाडेका थिए । त्यसको केही दिनपछि ‘बाजेको सेकुवा रेष्टुरेन्ट’मा बोलाएर आफूलाई पैसा मागिएको जीवनले बयान दिएका छन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा दोषीहरुलाई उन्मुक्ति दिने सबैलाई कारबाही गरिने बताएका छन् ।

३ चैत्र २०८०, शनिबार ११:११ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading