काठमाडौं। अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेसीले राष्ट्रिय टीमबाट सन्यासको घोषणा गरिसकेका छन्।
सर्वाधिक गोलकर्ता तथा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी मेसीले सोमबार दोस्रोपटक सन्यासको घोषणा गरेका हुन्।
१० वर्षअघि पनि मेसीले सन्यासको घोषणा गरेका थिए । तर, उनी राष्ट्रिय टीममा फर्किए । अब भने मेसी टोलीमा फर्किने सम्भावना छैन।
मेसीले अर्जेन्टिनालाई सन् २०२२ को कतार विश्वकप जिताउनुका साथै २०२१ र २०२४ को कोपा अमेरिका उपाधि दिलाएका थिए।
मेसीको सन्यास घोषणा विश्वभर चर्चामा रह्यो। यसैबीच उनका टीममेट एन्जो फर्नान्डेजले पनि मेसीको सन्यासमा दुःख व्यक्त गरेका छन्।
एन्जो उनै खेलाडी हुन् जसले १० वर्षअघि मेसीले सन्यास लिँदा पत्र लेखेर सन्यास फिर्ता लिन आग्रह गरेका थिए।
एन्जोले सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै मेसीबिनाको प्रशिक्षण शिविर र मैदानमा प्रवेश गर्दा अगाडि मेसीलाई १० नम्बरको जर्सीमा देख्न नपाउनु कल्पना गर्नै नसक्ने उल्लेख गरेका छन्।
लियो, तिमीले राष्ट्रिय टोलीबाट बाहिरिने निर्णय गरेको त्यो समय सम्झिँदा म निकै दुःखी भएको थिएँ।
त्यतिबेला म भर्खरैको बच्चा थिएँ। म तिम्रो उमेर र आफ्नो उमेर तुलना गर्थें, ताकि कुनै दिन तिमीसँग खेल्ने मौका पाउँछु कि पाउँदिनँ भनेर हेर्न सकूँ। सुन्दा मूर्खतापूर्ण लाग्न सक्छ, तर मैले साँच्चिकै त्यसो गर्थें।
तिमीसँग अझै कति वर्ष खेल्न बाँकी होला, म पहिलो डिभिजनमा पुग्न अझै कति वर्ष लाग्ला भनेर सोच्थें। अनि कम्तीमा एकपटक भए पनि हामी दुवैले अर्जेन्टिनाको जर्सी लगाएर सँगै खेल्न पाऊँ भन्ने सपना देख्थें।
भाग्यवश, तिमी फर्कियौ। अनि जीवन त्यो बच्चाले कहिल्यै कल्पना गर्न नसकेको भन्दा पनि सुन्दर बन्यो।
मैले तिमीसँग खेल्ने मौका मात्र पाएँ भन्ने होइन। हामीले प्रशिक्षण शिविरहरू, ड्रेसिङ रुम, कुराकानी, अँगालो, कठिन क्षण र अविश्वसनीय क्षणहरू सँगै बाँड्यौँ। अन्ततः हामी सँगै विश्व च्याम्पियन पनि बन्यौँ।
तर सबै भन्दा ठूलो कुरा, म टोलीमा आएको क्षणदेखि नै तिमीले मलाई जसरी व्यवहार गर्यौ, त्यसका लागि म सधैँ आभारी रहनेछु। म आफ्नो आदर्श खेलाडीसँग मैदान बाँड्ने उत्साह लिएर आएको थिएँ, तर त्यसको सट्टा मैले यस्तो व्यक्ति पाएँ, जसले पहिलो भेटदेखि नै मलाई टोलीकै एक सदस्यजस्तो महसुस गरायौ।
मलाई आवश्यक पर्दा तिमीसँग सधैँ केही न केही भन्नका लागि हुन्थ्यो, केही सल्लाह हुन्थ्यो, अँगालो हुन्थ्यो वा केवल तिम्रो त्यस्तो व्यवहार हुन्थ्यो, जसले मलाई शान्त महसुस गराउँथ्यो। म त्यो कहिल्यै बिर्सने छैन।
आज, तिमीबिनाको अर्को प्रशिक्षण शिविरको कल्पना गर्न पनि मलाई गाह्रो भइरहेको छ। मैदानमा प्रवेश गर्दा अगाडि तिमीलाई, १० नम्बरको जर्सीमा देख्न नपाउनु… यति धेरै वर्षदेखि तिमीलाई त्यहाँ देख्दै आएको मलाई अब त्यो दृश्यबिनाको कल्पना गर्नै असम्भवजस्तो लाग्छ।
म कति भाग्यमानी रहेछु, लियो। त्यो बच्चा कति भाग्यमानी रहेछ, जसले आफू समयमै राष्ट्रिय टोलीसम्म पुग्न सक्छु कि सक्दिनँ भन्ने थाहा नै नभई ती हिसाबहरू गर्थ्यो।
तिमीले मलाई जसरी व्यवहार गर्यौ, त्यसका लागि धन्यवाद। तिमीबाट मैले सिकेका सबै कुराका लागि धन्यवाद। अनि तिम्रो कथाको एउटा हिस्सा बन्ने अवसर दिएकोमा धन्यवाद।
हामीलाई तिमी धेरै–धेरै सम्झना आउनेछ, कप्तान।







































