काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसहित दुई जना घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर कार्कीले संरचनाको विश्लेषणसम्बन्धी काम स्वीकृत गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो ।
उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले कार्की र घुस रकम लिने मध्यस्थको भूमिकामा रहेकी आस्मा कार्कीलाई ६४ हजार रुपैयाँसहित सोमबार कागेश्वरी मनोहरा नगरपालिका कार्यालय, थली डाँछीबाट नियन्त्रणमा लिएको बताएको छ ।
उनीहरूमाथि घुससम्बन्धी मुद्दामा विशेष अदालतको आदेशबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।







































