काठमाडौं । स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित एक चिनियाँ नागरिकलाई काठमाडौंमा पक्राउ गरिएको छ ।
लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१५ चौमतीमा घर भाडामा लिएर बस्दै आएका ५२ वर्षीय चिनियाँ नागरिक मा यागुबीलाई पक्राउ गरेको हो ।
चिनियाँ नागरिकले घर भाडामा लिएर लागुऔषध कारोबार गर्दै आएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले उनको कोठामा खानतलासी गरेको थियो । खानतलासीका क्रममा लागुऔषध भने फेला नपरे पनि स्रोत नखुलेको नेपाली ३१ लाख रुपैयाँसहित विभिन्न सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको साथबाट एक थान राहदानी, सुन काट्न प्रयोग हुने एक थान कैँची, एक थान हथौडा, एक थान विद्युतीय तराजु, एक थान हिसाब गर्ने यन्त्र, विभिन्न कम्पनीका चार थान मोबाइल र विभिन्न बैंकका तीन थान चेकबुक बरामद गरिएको छ ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर काठमाडौंमा बुझाइएको ब्युरोले जनाएको छ । प्रहरी अभिलेखअनुसार उनी यसअघि ६ पटक नेपाल आएर फर्किसकेका थिए । पछिल्लो पटक उनी सन् २०२६ जुलाई २३ मा नेपाल आएको देखिएको छ ।







































