काठमाडौं । काठमाडौँको गौरीघाट पुलदेखि गुह्येश्वरीसम्मको सडकलाई मौलिक स्वरुपमा पुनःस्थापना गर्ने उद्देश्यले ढुङ्गा छाप्ने काम सुरु भएको छ ।
काठमाडौं महानगरपालिका- ८ ले पहिलो चरणमा करिब १ हजार ७ सय वर्गमिटर सडकमा ८७ लाख रुपैयाँ लागतमा काम अघि बढाएको हो । दोस्रो चरणमा थप १ हजार १ सय वर्गमिटर क्षेत्रमा ढुङ्गा छाप्न करिब ९० लाख रुपैयाँको खरिद प्रक्रिया अघि बढाइएको छ ।
करिब ३ सय ५० मिटर लामो सडकमा ४ इन्च मोटाइका ढुङ्गा र त्यसको तल चुनाको तह राखिनेछ। आधुनिक निर्माण सामग्री प्रयोग नगरी परम्परागत शैलीमा सडक निर्माण गरिने वडा अध्यक्ष आशामान संगतले बताएका छन् ।
गौरीघाट गुह्येश्वरी मार्गमा कालो रङ्गका, ४ इञ्च मोटाइका ढुङ्गा छापिनेछ । ढुङ्गाको तहभन्दा तल करिब ४ इञ्चको चुना ढलान राखिनेछ । यसरी गरिने काममा आधुनिक निर्माण सामग्रीको प्रयोग गरिनेछैन । ढुङ्गा, स्टोन डस्ट, चुनालगायत सामग्रीको प्रयोग हुनेछ ।
वडाले यसअघि पनि विभिन्न सम्पदा क्षेत्रमा मौलिक स्वरुप कायम गर्ने गरी करिब साढे ४ करोड रुपैयाँ खर्च गरिसकेको जनाएको छ । निर्माण कार्यका लागि २०८३ असार ९ गते निर्माण पक्ष एट्रिक कम्पनीसँग सम्झौता गरेको हो । यसको निर्माण अवधि २०८३ मंसिर २९ गते सम्म हो ।






































