वि.सं.२०८३ भदौ १७ बुधवार

बाढीमा उद्धारमा खटिएको ‘ग्रीन आर्मी’ को वास्तविकता के हो ?

khanepani

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीले स्थानीय बस्ती तहसनहस बनाएको सात दिनसम्म कतै नदेखिएका स्वयंसेवकहरू एकाएक सैनिक शैलीको पोसाकमा मैदानमा उत्रिएपछि भोटेकोशी क्षेत्रमा तीव्र संशय र प्रश्न उब्जिएको छ। संकटको सुरुवाती घडीमा नागरिक गुहार मागिरहँदा बेखबर रहेको ‘ग्रीन आर्मी नेपाल’ नामको समूह विपद्को एक हप्तापछि सेनासँग मिल्दोजुल्दो हरियो बर्दी र ‘आर्मी’ लेखिएको पोसाक लगाएर गाउँ पसेपछि स्थानीय नागरिकमा राहतभन्दा बढी अन्योल र त्रास फैलिएको छ।

संकटको मुख्य समय घर्किसकेपछि अनुशासित दस्ताको रूपमा प्रस्तुत हुँदै आएको यो टोलीलाई देख्दा सर्वसाधारणले वास्तविक नेपाली सेना वा अन्य सुरक्षा निकायको टोली ठानेका थिए। तर बुझ्दै जाँदा यो कुनै सरकारी सुरक्षा अंग नभई गोकर्णेश्वर नगरपालिकामा दर्ता भएको वातावरण संरक्षण र विपद् व्यवस्थापनसम्बन्धी गैरसरकारी स्वयंसेवी संस्था मात्र भएको तथ्य खुलेको छ। बाढीले वितण्डा मच्चाउँदा सात दिनसम्म कुनै अत्तोपत्तो नभएको यो संस्था अचानक सैनिक शैलीमा प्रकट भएर नागरिकलाई आतंकित बनाउन खोजेको भन्दै स्थलगत स्तरमै चर्को आलोचना सुरु भएको छ।

संस्थापक अध्यक्ष सविन शर्माको नेतृत्व र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल प्रमुख सल्लाहकार रहेको यस संस्थाले गृहमन्त्रालय र काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट २०७८ सालमै सेनासँग मेल नखाने पोसाक प्रयोगको अनुमति पाएको दाबी गरेको छ। अनुमति पत्रमा जिल्ला सुरक्षा समिति र जङ्गी अड्डाको राय लिइएको उल्लेख भए पनि भोटेकोशीको संवेदनशील धरातलमा भने उनीहरूको बाहिरी रूपरङ्ग ठ्याक्कै राज्यको सुरक्षा फौजजस्तै देखिएको छ। सामाजिक सेवा, वृक्षारोपण र विपद् सचेतनाको आवरणमा दर्ता भएको संस्थाले विपद्को उत्कर्ष सकिएपछि मात्रै यस्तो संवेदनशील पोसाकमा देखाएको सक्रियताले स्वयंसेवाको भावनाभन्दा बढी प्रचारमुखी र भ्रामक नाटक मञ्चन गरेको स्थानीयको आरोप छ।

विपद्को पहिलो प्रहरमा नागरिकलाई प्रत्यक्ष उद्धारको खाँचो परेका बेला मौन बस्ने र पछि आएर ‘आर्मी’ शब्द र सैनिक पोसाकमार्फत नागरिकमा भ्रम छर्ने शैलीप्रति यतिबेला गम्भीर प्रश्न खडा भएको छ। आफूलाई विशुद्ध सामाजिक तथा स्वयंसेवी दाबी गर्ने यस संस्थाले उद्धारका नाममा सुरक्षा निकायको जस्तै भेषभूषा देखाएर नागरिकमा मनोवैज्ञानिक त्रास सिर्जना गर्नुको साटो आफ्नो पहिचान र ढिलो उपस्थितिको औचित्य स्पष्ट पार्न चौतर्फी दबाब बढेको छ।

ranechhap