काठमाडौँ । नेपाल भन्सार एजेन्ट संघ काठमाडौँले हालैको भीषण बाढीबाट प्रभावितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा २ लाख रुपैयाँ सहयोग गरेको छ ।
चीनको तिब्बततर्फबाट अचानक आएको भीषण बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेंसीलगायत क्षेत्रमा ठुलो जनधनको क्षति पुर्याएपछि संघले सरकारको ध्यानाकर्षणसमेत गराएको भन्सार एजेन्ट भोजराज देवकोटाले जानकारी दिए ।
संघका अध्यक्ष होमनाथ धमलाद्वारा जारी विज्ञप्तिमा बाढीका कारण रसुवा भन्सार क्षेत्रमा कार्यरत भन्सार एजेन्ट, कर्मचारी, सुरक्षाकर्मी, व्यवसायी तथा पर्यटकहरू ठुलो संख्यामा सम्पर्कविहीन भएको भन्दै गहिरो चिन्ता व्यक्त गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सम्पर्कविहीन हुनुभएका सम्पूर्ण सहकर्मी तथा नागरिकहरूको शीघ्र खोजी, प्रभावकारी उद्धार र सुरक्षित पुनर्मिलनका लागि हामी सरकार र सम्बन्धित निकायसँग जोडदार माग गर्दछौँ ।’ संघले प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन र सरकारी निर्देशनको पूर्ण पालना गर्न समेत अपिल गरेको छ ।
यस दुःखद समयमा सम्पूर्ण भन्सार एजेन्ट परिवार, उद्योगी–व्यवसायी र आम नागरिकलाई मानवीय सहयोग, सहकार्य र एकताका साथ पीडितको पक्षमा उभिन संघले आग्रह गरेको छ ।







































