सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नगरपालिकाका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन बाह्रविसे नगरपालिकाले पालिकाका बाढी प्रभावित प्रतिपरिवार १ लाख १५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ।
बाह्रविसे नगरपालिकाको ९९औँ कार्यपालिका बैठकले विपद् व्यवस्थापन कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।
नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै विपद्को यस कठिन घडीमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिनुपर्नेमा जोड दिएको छ।
नगरपालिकाका अनुसार भोटेकोशी नदीमा आएको अचानक बाढीका कारण रसुवालगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीपछि प्रभावितहरूको उद्धार, राहत तथा बेपत्ताको खोजी कार्य जारी रहेको भन्दै नगरपालिकाले केन्द्र सरकार तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्यका लागि आग्रह गरेको छ।
नगरपालिकाले विपद्का कारण प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापनामा समेत राज्यका सबै तह र निकायको भूमिका महत्वपूर्ण हुने जनाएको छ।
यस अघि पनि बाह्रविसे नगरपालिकाले विपद् प्रभावित नागरिकका लागि राहत तथा सहयोगका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।







































