काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय अवस्था बुझ्न देशभरका विभिन्न विद्यालयको स्थलगत अवलोकनलाई निरन्तरता दिएका छन्।
विद्यालयमा भइरहेको पठनपाठन, भौतिक पूर्वाधार, व्यवस्थापन, शिक्षक–विद्यार्थीका समस्या तथा विद्यालयका आवश्यकताबारे प्रत्यक्ष जानकारी लिन मन्त्रालयले सामुदायिक विद्यालय अवलोकन अभियान अघि बढाएको हो।
यसै क्रममा मन्त्री पोखरेलले आज चार सामुदायिक विद्यालयमा पुगेर विद्यालय प्रशासन, शिक्षक तथा विद्यार्थीसँग प्रत्यक्ष छलफल गरेका छन्। उनले विद्यालयको पठनपाठनको अवस्था, शैक्षिक वातावरण, विद्यार्थीले भोगिरहेका चुनौती तथा विद्यालय व्यवस्थापनका विषयमा जानकारी लिएका थिए।
उनले श्री राम आधारभूत विद्यालय, मदन आश्रित आदर्श माध्यमिक विद्यालय, श्री भद्रकाली आधारभूत विद्यालय, श्री गणेश माध्यमिक विद्यालयमा अवलोकन गरे।
अवलोकनको मुख्य उद्देश्य विद्यार्थीका वास्तविक आवश्यकता र माग पहिचान गर्नु, उनीहरूले भोगिरहेका समस्या बुझ्नु तथा ती समस्या समाधानका लागि व्यवहारिक र प्रभावकारी उपाय पहिल्याउनु रहेको मन्त्री पोखरेलले बताएका छन्।
विद्यालयमा विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्न आवश्यक स्रोत, पूर्वाधार, शैक्षिक सामग्री, अतिरिक्त क्रियाकलाप तथा अन्य आवश्यकताबारे पनि प्रत्यक्ष जानकारी लिइएको मन्त्रालयले जनाएको छ।
मन्त्री पोखरेलले विद्यालय, शिक्षक तथा विद्यार्थीबाट प्राप्त सुझाव, गुनासा र आवश्यकतालाई प्राथमिकताका आधारमा सम्बोधन गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र विद्यार्थीमैत्री सिकाइ वातावरण निर्माणमा मन्त्रालयले आवश्यक पहल गर्ने बताएका छन्।
मन्त्रालयका अनुसार विद्यालयको वास्तविक अवस्था नजिकबाट पहिचान गरी आवश्यक सुधारका क्षेत्र निर्धारण गर्ने, स्थानीय तह तथा विद्यालयसँग समन्वय गर्ने र देखिएका समस्या समाधानका लागि प्रभावकारी सहजीकरण गर्ने उद्देश्यले अवलोकन अभियानलाई देशभर निरन्तरता दिइएको छ।
मन्त्री पोखरेलको अनुसार मन्त्रालयका सल्लाहकारसहितको टोलीले विभिन्न प्रदेशमा रहेका सामुदायिक विद्यालयहरूको स्थलगत अवलोकन तथा अन्तरक्रियालाई निरन्तरता दिइरहेको छ।







































