वि.सं.२०८३ भदौ ३ बुधवार

विकासलाई सिमेन्ट र डन्डीमा मात्र ननापौँ, उत्पादन र रोजगारीमा जोड दिऊँ : सांसद कार्की

khanepani

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रकाशसिंह कार्कीले भौतिक पूर्वाधार निर्माणसँगै उत्पादन र रोजगारीलाई पनि सँगसँगै लैजानुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समयमा सांसद कार्कीले सडक, पुल, सुरुङ र विमानस्थल निर्माण हुनु सकारात्मक भए पनि ती पूर्वाधारले नेपाली उत्पादन र रोजगारीमा कस्तो प्रभाव पारेका छन् भन्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

‘हामीले विकासलाई कहिलेकाहीँ यति धेरै सिमेन्ट र डन्डीमा मात्र नाप्न थाल्यौँ कि, लाग्छ देशको विकास मात्र भयो कि विकासको बिल मात्र बढ्यो,’ कार्कीले भने । उनले विकासको प्राथमिकता अब बदल्नुपर्ने तर्क गर्दै सडकले उत्पादनलाई बजारसम्म पुर्‍याउनुपर्ने र सुरुङले व्यापारको लागत घटाउनुपर्नेमा जोड दिए ।

सांसद कार्कीले सरकार आफैँले उद्योग चलाउने भन्दा पनि निजी क्षेत्रलाई लगानीका लागि सुरक्षित वातावरण बनाइदिनुपर्ने बताए ।

नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८० प्रतिशत भन्दा बढी रहेको उल्लेख गर्दै उनले सरकार व्यापारी नभई व्यापार गर्ने वातावरण बनाउने अभिभावक बन्नुपर्ने धारणा राखे । ‘सरकारले कारखाना र मेसिन चलाउने होइन, नीति र कानुनको मेसिनरी चलाएर निजी क्षेत्रलाई उद्योग चलाउने वातावरण दिनुपर्छ,’ उनले भने ।

घाटामा रहेका सरकारी उद्योगहरूलाई वर्षौँसम्म करदाताको पैसा खर्च गरेर चलाइराख्नुभन्दा निजी क्षेत्रलाई पारदर्शी प्रतिस्पर्धाबाट सहभागी गराउनु उचित हुने उनले सुझाव दिए ।

आफ्नो गृहजिल्ला सोलुखुम्बुको सन्दर्भ जोड्दै सांसद कार्कीले त्यहाँका किसानले उत्पादन गर्ने आलु, किवी, स्याउ र चौँरीको दूधलाई स्थानीय तहमै प्रशोधन गर्ने व्यवस्था मिलाउन माग गरे । ‘हाम्रा किसानले कच्चा पदार्थ बेच्छन्, तर नाफा अरूले नै कमाउँछन्,’ उनले भने, ‘सोलुखुम्बुको किवी सोलुमै प्रशोधन भएर जुस बनोस्, आलुको चिप्स बन्ने कारखाना खुलोस् र जडीबुटीको मूल्य बढाइयोस् ।’

किसानले पसिना बगाउने तर नाफा बिचौलियाले खाने अवस्थाको अन्त्य हुनुपर्ने उनको माग थियो । यस्तै, पर्यटन र जलविद्युतका क्षेत्रमा पनि निजी क्षेत्र र स्थानीय जनताको साझेदारी सुनिश्चित गर्नुपर्ने उनले बताए ।

सांसद कार्कीले सरकारले सबै काम आफैँ गर्न खोजे सरकार थाक्ने तर निजी क्षेत्रलाई काम गर्न दिए अर्थतन्त्र जाग्ने टिप्पणी गरे । उनले स्थिर नीति, लगानीको सुरक्षा र प्रशासनिक झन्झट हटाएर पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकारसँग आग्रह गरे ।

ranechhap