वि.सं.२०८३ भदौ २ मंगलवार

बहालवाला र भूपू कर्मचारीलाई बैंकबाट फोन गरेको भन्दै ठगी गर्ने गिरोह पक्राउ

khanepani

काठमाडौं । पछिल्लो समय बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी बैंकबाट बोलेको भन्दै केवाइसी अपडेटका नाममा ठगी गर्ने समूह सक्रिय रहेको पाइएको छ ।

उक्त समूहले बैंकबाट फोन गरेको भन्दै केवाइसी अपडेट गर्नुपर्ने बहाना बनाउने र पीडितलाई फोन तथा ह्वाट्सएप कलमार्फत सम्पर्क गर्ने गरेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएकाे छ ।

उनीहरूले पीडितलाई स्क्रिन सेयर गर्न लगाउने वा ओटीपी कोड माग्ने गरेका थिए । त्यसपछि प्राप्त ओटीपी तथा अन्य विवरणको प्रयोग गरी पीडितको बैंक खातामा अनधिकृत पहुँच पुर्‍याएर खातामा रहेको रकम अन्य खातामा रकमान्तर गरी ठगी गर्ने गरेको ब्यूरोले जनाएको छ ।

ब्यूरोले केवाइसी अपडेटका नाममा ठगी गर्ने गिरोहका चार जनालाई पक्राउ गरेको छ ।

ब्यूरोले गरेको प्राविधिक विश्लेषणका क्रममा ठगीमा संलग्न रहेको खुलेका चार जनालाई जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा चितवनबाट गत साउन ३१ गते पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बारा देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जयकुमार केवट, रामग्राम नगरपालिका–१७ का २२ वर्षीय विद्य‍ासागर केवट र पर्सा वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय कुबेर थापा रहेका छन् ।

उनीहरूविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ ।

ranechhap