वि.सं.२०८३ भदौ २ मंगलवार

वैदेशिक रोजगार ठगी र अलपत्र नेपालीको उद्धारका लागि छानबिन समिति गठन गर्न शाहीको माग

khanepani

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता एवं सांसद ज्ञानबहादुर शाहीले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी र विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धारका लागि तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद शाहीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको अवस्था दयनीय बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेपालको अर्थतन्त्र वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सले थामिएको भए पनि राज्यले श्रमिकहरूको पीडाप्रति आँखा चिम्लेको उनले आरोप लगाए। हालसम्म झन्डै २१ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको बताउँदै उनले सोही रकमबाट राज्य सञ्चालन भइरहेको तर श्रमिकहरूको जीवन र अधिकार भने असुरक्षित रहेको उल्लेख गरे।

‘नेपालबाट श्रम स्वीकृति लिएर र नलिई वैदेशिक रोजगारीमा जानेको सङ्ख्या झन्डै एक करोड पुग्न लागेको छ,’ शाहीले भने, ‘तर उनीहरू विदेशमा ठगिएका छन्, अलपत्र परेका छन् र सम्झौता अनुसारको काम र तलब नपाउँदा मानसिक तनावका कारण आत्महत्या गर्न बाध्य छन्।’

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेहरूको सङ्ख्या भयावह रहेको उल्लेख गर्दै शाहीले हालसम्म १६ हजार ७ सय ६० नेपालीको शव बाकसमा फर्किएको जानकारी दिए। जापानको उदाहरण दिँदै उनले पछिल्लो एक वर्षमा त्यहाँ मृत्यु भएका ७३ नेपालीमध्ये २८ जनाले आत्महत्या गरेको बताए।

कन्सल्टेन्सी र गिरोहले कुकिङ र विद्यार्थी भिसाका नाममा मोटो रकम असुल गरी युवाहरूलाई विदेशमा अलपत्र पारेका कारण यस्तो अवस्था सिर्जना भएको उनको दाबी छ।

ranechhap