धुलिखेल । एक युवतीसँग आपसी सहमतिमा होटसमा बसेका सईलाई ‘रंगे हात भेटिएको’ भन्दै केही स्थानीय युवाले समातेर प्रहरीको जिम्मा लगाए । अहिले ती युवाहरुलाई नै प्रहरीले खोजिरहेको छ ।
काभ्रे, भकुण्डेबेसीस्थित प्रहरी चौकीका इञ्चार्ज सई गणेश श्रेष्ठ आइतबार राति नमोबुद्ध बजारस्थित एक होटलमा पूर्वम्यादी प्रहरी महिलासित बसेका थिए । सई विवाहित र महिला अविवाहित हुन् । नैतिक आचरण विपरित परस्त्रीसँग सम्बन्ध राखेको भन्दै स्थानीय केही युवाहरुले मध्यरात होटलको कोठामै घूसेर उनीहरुलाई नियन्त्रणमा लिए ।
यतिमात्रै होइन, ती युवाहरुले सई र युवतीको भिडिओ खिचेर सामाजिक सञ्जालमा हाले । यो व्यक्तिगत गोपनीयताको उल्लंघन र कानूनतः वर्जित काम थियो । यस विषयमा सामाजिक सञ्जालमा चर्को आलोचना सुरु भएपछि प्रहरीले भिडिओ खिच्नेहरुलाई पक्राउको तयारी गरेको छ । तर, प्रहरीले खोजी गरेको थाहा पाएपछि उनीहरु फरार बनेका छन् । पाँचखाल घर भएकी युवतीलाई सामान्य सोधपुछपछि छोडिएको छ ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी रविन कार्कीले ‘रङ्गेहात पक्राउ’ गर्ने र कोठाभित्रको दृश्य भिडियोमा कैद गर्ने व्यक्तिहरुको खोजी भइरहेको बताए । सई श्रेष्ठ र युवतीको निजी मामिलामा हस्तक्षेप गरी उनीहरुको वैयक्तिक गोपनीयताको भङ्ग गरेका कारण त्यसमा संलग्न सबै व्यक्ति कानुनी कारवाहीको दायरामा रहेको उनको भनाइ छ ।
‘भिडिओ खिच्नेहरु भेटिएका छैनन् । उनीहरुका विषयमा हामी विभिन्न प्रमाण संकलन गरिरहेका छौँ । त्यसपछि कसलाई के कारवाही गर्ने वा कसलाई कारवाही नगर्ने भन्ने यकिन हुन्छ,’ उनले भने ।
एसपी कार्कीका अनुसार कुनै पनि महिला र पुरुष आपसी सहमतिमा होटलमा जाने, बस्ने कुरा उनीहरुको व्यक्तिगत विषय भएका कारण प्रहरीले पनि हस्तक्षेप गर्न मिल्दैन । सर्वसाधारणले नै होटलमा छापा मार्ने र मानिस पक्राउ गर्ने कुरा गैरकानुनी हुने उनी बताउँछन् ।
त्यसो त सई श्रेष्ठ पनि कारवाहीको दायरामा छन् । घरमा पत्नी हुँदाहुँदै अन्य युवतीसँग रात बिताउने कार्य अनैतिक भएकाले उनीमाथि विभागीय कारवाही हुने भएको हो । यद्यपि ड्यूटीको समयमा नभएको र आपसी सहमतिमा गएको हुँदा यसलाई गम्भीर अपराधको रुपमा लिइएको छैन ।
एसपी कार्कीले घटनामा संलग्न सही श्रेष्ठमाथि विभागीय कारवाहीको प्रक्रिया अघि बढिसकेको जानकारी दिए । आफ्नै कार्यक्षेत्रभित्र त्यसरी होटलमा जाने र स्थानीयले त्यस कुरामा आपत्ति जनाउनुले प्रहरीप्रतिको सम्मान र विश्सनीयतामा समस्या आउने उनले बताएका छन् । हालसम्म सईको परिवारको तर्फबाट केही पनि सरोकार नआएको पनि एसपी श्रेष्ठले उल्लेख गरे ।
सई श्रेष्ठ स्थानीयबीच त्यही लोकप्रिय थिएनन् । नदी आसपासका बस्तीमा सर्वसाधारणले घर बनाउनका लागि निर्माण सामग्री लैजान चाहँदा रोक लगाउने काम गरेपछि स्थानीयको आक्रोश बढेको थियो । यसैको रिस फेर्न उनीहरुले सईको व्यक्तिगत जीवनमा हस्तक्षेप गरेको प्रहरी स्रोत बताउँछ ।







































