काठमाडौं । निजी जेट लिएर बिहीबार दिउँसो दुबईबाट काठमाडौं ओर्लिएका वलिउड अभिनेता सञ्जय दत्त (सञ्जु) आज पशुपतिनाथमा विशेष पूजा लगाएपछि दिल्ली फर्किने तयारीमा छन् ।
केशरमहलस्थित होटल बाराहीको हाताभित्र सञ्चालित क्यासिनो बादशाहको उद्घाटन गर्न सञ्जु काठमाडौं आएका हुन् । आउनासाथ दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बसे । तर, त्यहाँको बसाइँ राम्रो नलागेपछि हिजै साँझ लाजिम्पाटस्थित होटल दुसित प्रिन्सेसमा बसाइँ सरे ।
उनको काठमाडौं यात्राको सहजीकरण व्यवसायी निर्भान चौधरी र विष्णुहरि पोण्डेले गरेका थिए। बिहीबार विमानस्थलबाट याक एण्ड यति पुगेर फ्रेस भएपछि सञ्जुले खुमलटारस्थित नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेका थिए । उनलाई व्यवसायी पाण्डेले आफ्नै गाडीमा खुमलटार लिएर गएका हुन् ।
अहिले होटल दुसित प्रिन्सेसमा ब्रेकफास्ट गरिरहेका सञ्जु अबको केही बेरमा पशुपतिनाथ मन्दिरतर्फ लाग्दैछन् । उनको सुरक्षाका लागि पशुपतिनाथ परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको काठमाडौं प्रहरीका एक अधिकृतले बताए ।
प्रचण्डसँगको भेटपछि उनले होटल याक एण्ड यति बस्नका लागि सहज नभएको भन्दै अन्यत्र सर्न चाहेका हुन् । यात्राका सहजकर्ताहरुले लाजिम्पाटस्थित होटल दुसित प्रिन्सेस लगेका थिए । त्यहाँ पुग्नासाथ राम्रो वातावरण देखेपछि त्यहीँ बस्न राजी भएका हुन् । उक्त होटलमा बसाइँ सरेपछि उनी क्यासिनो उद्घाटनका लागि केशरमहल पुगेका थिए । त्यहाँ एक घण्टामात्रै बसे ।








































