वि.सं.२०८३ भदौ १४ आइतवार

नेपाली कांग्रेसले सुरुङमा फसेकाहरूको तत्काल उद्धार गर्न गरायो सरकारको ध्यानाकर्षण

khanepani

काठमाडौँ। नेपाली कांग्रेसले बाढीमा हराएकाहरूको खोजी र उद्धारमा भइरहेको ढिलाइप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको कांग्रेस बैठकले विशेष गरी सुरुङमा अड्किएका व्यक्तिहरूको उद्धारमा विलम्ब हुँदा ज्यान थप जोखिममा परेको भन्दै कांग्रेसले सरकारलाई प्रतिरक्षापूर्ण प्रचारबाजी भन्दा परिणाममुखी काम गर्न सजग गराएको छ।

‘सुरुङमा उद्धारका लागि आवश्यकता अनुसार मित्र राष्ट्रबाट प्रविधि र दक्ष टोली मगाएर भए पनि द्रुत गतिमा काम गरियोस्,’ विज्ञप्तिमा भनिएको छ, ‘रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर हवाई उद्धारलाई प्रभावकारी बनाउनुपर्छ ।’
कांग्रेसले एकद्वार प्रणालीका नाममा राहत वितरणमा प्रशासनिक झन्झट सिर्जना नगर्न सरकारलाई चेतावनी दिएको छ । सहज स्थानमा राहत थुप्रिएको तर विकट र अति प्रभावित बस्तीमा सामग्री नपुगेको भन्दै स्थानीय सरकारमार्फत समन्यायिक ढङ्गले राहत वितरण गर्न माग गरिएको छ ।

प्रवक्ता चालिसेका अनुसार, शवहरूको व्यवस्थापनमा संवेदनशीलता अपनाउन, मृतकको विवरण सुरक्षित राख्न र परिवारलाई संस्कृति अनुसार अन्तिम संस्कार गर्ने अधिकार संरक्षण गर्न समेत सरकारको ध्यानाकर्षण गराइएको छ ।

बाढी प्रभावित क्षेत्रमा अवरुद्ध भएका सडक, विद्युत् र सञ्चार सेवा तत्काल सुचारु गर्न कांग्रेसले सङ्घीय सरकारका निकायहरूलाई आग्रह गरेको छ । क्षतिग्रस्त पुलहरूको विकल्प खोज्न र यातायात सुचारु गर्ने वातावरण निर्माण गर्न माग गरिएको छ ।

बैठकले ई. मोहन आचार्यको संयोजकत्वमा गठित विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समितिलाई प्रत्येक गाउँ र नगरपालिकाको वडागत रूपमा प्रभावित परिवारको विवरण तयार पार्न निर्देशन दिएको छ । साथै, पार्टीका सबै तहका कार्यकर्ता र भातृ संस्थाहरूलाई स्थानीय तहसँग समन्वय गरी उद्धार र राहतमा खटिन पुनः आह्वान गरिएको छ ।

आजको बैठकमा रसुवाका सांसद ई. मोहन आचार्य, संसदीय दलका नेता भिष्मराज आङ्देम्बे, सहमहामन्त्री बहादुरसिंह लामा, नेता जगदीश्वर नरसिंह केसी र नुवाकोट सभापति रमेश महतले प्रभावित क्षेत्रको वस्तुस्थितिबारे जानकारी गराएका थिए।

ranechhap