काठमाडौँ। काठमाडौँको महाराजगञ्जस्थित त्रिभुवन विश्वविश्वविद्यालय(त्रिवि) शिक्षण अस्पतालको शवगृह भरिँदै गएकाे छ ।
त्रिवि शिक्षण अस्पतालका अनुसार हालसम्म रसुवा बाढीबाट भेटिएका ६० वटा शव ल्याइएका छन् । प्राप्त शवमध्ये अहिलेसम्म ८ वटाको पहिचान भइसकेको अस्पतालले जनाएको छ ।
फरेन्सिक विशेषज्ञ डा.गोपाल चौधरीले भने, ‘फ्रीजको क्षमता(क्यापासीटी) एक सय ५० हो । कानुनी प्रक्रिया पूरा भएर अन्तिम संस्कारका लागि पर्खिरहेका ८० वटा पुराना शव थिए । अब १० वटा शव आयो भने अट्ने सम्भावना कम छ। यसैपनि यो क्षेत्र दुर्गन्धित छ ।’ थप शवहरू आएमा बाहिरै राख्नुपर्ने अवस्था आउन सक्ने अस्पतालले जनाएकाे छ।
यसैबिच बाढीपछि पहिचान हुन नसकेका तथा बेवारिसे शवहरूको व्यवस्थापनका लागि सरकारले कानुनी प्रक्रिया बमोजिम जमिनमुनि गाड्ने कार्य सुरु गरेको छ ।
‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका (संशोधन), २०८३’ लाई आधार बनाएर सरकारले यो कदम अघि बढाएको हो । नेपाल प्रहरीको पछिल्लो अद्यावधिक तथ्याङ्क अनुसार हालसम्म बाढीबाट प्रभावित क्षेत्रहरूमा कुल ७ सय ३४ जनाको शव फेला परेको छ ।
निर्देशिका अनुसार पहिचान नखुलेका शवहरूलाई गाड्नुअघि अनिवार्य रूपमा डीएनए लगायतका महत्त्वपूर्ण आनुवंशिक नमुनाहरू सङ्कलन गरी सुरक्षित राखिन्छ । भविष्यमा आफन्तले दाबी गर्न आएमा पहिचान पुष्टि गर्न सकियोस् भनेर नमुनाहरू सङ्कलन गरी सुरक्षित राखिने अस्पतालले जनाएको छ ।
यही कानुनी मापदण्डलाई पालना गर्दै हालसम्म पहिचान हुन नसकेका ३ सय ८४ शव सुरक्षित तरिकाले जमिनमुनि व्यवस्थापन गरिसकिएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका एक अधिकारीले भने, ‘राष्ट्रिय स्तरमै जारी गरिएको यो निर्देशिकाले बेवारिसे शव व्यवस्थापनमा प्राविधिक र मानवीय पक्षलाई सन्तुलित बनाएको छ । प्रक्रियागत रूपमा डीएनए नमुना सुरक्षित गरिएकाले आगामी दिनमा आफन्तको खोजीमा आएका परिवारजनलाई कानुनी र वैज्ञानिक आधारमा शव पहिचान गराउन सहज हुने विश्वास लिइएको छ ।’







































