काठमाडौँ। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बाढी प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।
बैंकले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार र राहत कार्यमा सघाउन उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
हालैको प्राकृतिक विपत्तिका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवन लगायतका विभिन्न जिल्लाहरूमा ठुलो मानवीय तथा भौतिक क्षति पुगेको छ। बाढीका कारण नागरिकको दैनिक जनजीवन कष्टकर बनेको वर्तमान अवस्थामा सरकार र सम्बन्धित निकायहरूले गरिरहेको उद्धार तथा राहत कार्यमा टेवा पुर्याउने उद्देश्यले बैंकले सो कोषमा सहयोग प्रदान गरेको जनाएको छ।
विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको साथमा रहँदै बैंकले मानवीय कार्यमा आफ्नो पूर्ण ऐक्यबद्धता प्रकट गरेको छ। खोज, उद्धार र पुनःस्थापनाको कार्यमा सरकारलाई सहयोग पुर्याउनु आफ्नो दायित्व भएको बैंकको ठहर छ।
बैंकले बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, यस प्राकृतिक प्रकोपमा परी हालसम्म पनि सम्पर्कमा नआएका व्यक्तिहरूको सकुशल उद्धारको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको समेत बैंकले कामना गरेको छ।







































