सुर्खेत । दैलेख क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि बनेका तिलक रिजालले बुधवार भक्तपुरको सल्लाघारीमा जारी एमालेको ११ औँ महाधिवेशनमा मतदान नगरेको पाइएको छ । मतदान प्रक्रियामा सहभागी नहुनेमा उनी कर्णाली प्रदेशका एक्ला प्रतिनिधि हुन् ।
प्रतिनिधि छनोटका क्रममा ५९ जनाबिच कडा प्रतिस्पर्धा हुँदा रिजालले प्रतिनिधि बन्न मरिहत्ते नै गरेका थिए । सबै नेताहरूको सल्लाह र सहमतिमा उनलाई प्रतिनिधि बनाएर काठमाडौँ पठाइए पनि उनी मतदानमा सहभागी नभएको भन्दै एमाले नेता तथा कार्यकर्ताहरूले उनको व्यापक विरोध गरेका छन् ।
यस विषयमा कुराकानीमा उनले आफू अचानक बिरामी परेका कारण भोट हाल्न नपाएको बताएका छन् । ‘म काठमाडौँमै छु, तर स्वास्थ्य समस्याले गर्दा मतदान गर्न लाइनमा बस्दाबस्दै बाहिरिनुपर्यो,’ उनले भने । लाइनमा बस्दाबस्दै एक्कासि बिरामी भएको उनको दाबी छ ।
रिजालले थपे, ‘हिजो १२ बजेसम्म लाइनमै थिएँ, ढाडको नसा सम्बन्धी समस्याले एक्कासि ढलेँ । असाध्यै गाह्रो भएपछि होटलतिर लागेँ । पछि बिहान उठ्दा त भोट हाल्ने समय नै घर्किसकेछ ।’








































