काठमाडौँ । बागमती नदी करिडोरलाई उज्यालो बनाइने भएको छ । बागमती करिडोरको गोकर्णदेखि बल्खुसम्मको नदी किनारमा बत्ती राखिने छ । त्यस क्षेत्रको निगरानीका लागि आधुनिक सिसिटिभी जडान गरिने भएको छ ।
शहरी विकास मन्त्रालयअन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी करिडोरको गोकर्ण—बल्खु क्षेत्रमा बढ्दै गएको फोहोरमैला व्यवस्थापन समस्या, अनाधिकृत गतिविधि तथा सुरक्षा चुनौतीलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न आधुनिक सिसिटिभी सर्भिलेन्स सिस्टम र हाइमास्ट स्मार्ट लाइटिङ सिस्टम जडान गर्न लागेको हो ।
बत्ती र सिसिटिभी जडानका लागि समितिले निर्माण व्यवसायी छनोटका लागि टेण्डर आह्वान गरिसकेको छ । नदी एवम् नदी किनारमा फोहोर फालेमा त्यसको निगरानी सिसिटिभीमार्फत निगरानी गरिनेछ ।
१२० थान अत्याधुनिक प्रविधिका तापक्रम, धूलो तथा पानी प्रतिरोधी दिन–रात दुवै समयमा काम गर्ने क्यामेरा जडान गरी सर्भर र मनिटरिङ युनिट काठमाडौँ उपत्यकाको प्रहरी कार्यालयमा रहने छ । अध्यारो क्षेत्र उज्यालो बनाई सुरक्षित र व्यवस्थित वातावरण निर्माणका लागि ५ सय ६७ थान स्मार्ट सडक बत्ती, ४८ थान फ्लड लाइट तथा ६ थान हाइमास्ट फ्लडलाइट जडान गरिने भएको छ । सिसिटिभी तथा बत्ति जडानले निरन्तर चलिरहेको बागमती सरसफाइ महाअभियानलाई समेत टेवा पुग्ने विश्वास गरिएको छ ।
सिसिटिभी तथा बत्ती जडानपश्चात यस क्षेत्रको सुरक्षा, निगरानी, अपराधिक तथा अव्यवस्थित गतिविधिको रोकथाम र रात्रीकालीन उज्यालो व्यवस्था सुधारमार्फत समग्र वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउने लक्ष्य राखिएको छ ।







































