वि.सं.२०८३ भदौ १२ शुक्रवार

प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि पाँच जनाको नाम सर्टलिस्टमा

khanepani

काठमाडौँ। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को रिक्त कार्यकारी निर्देशक पदका लागि पाँच जना उम्मेदवारको नाम सर्टलिस्ट गरिएको छ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शक्रबार सूचना जारी गर्दै छनोटमा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो ।

‘नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक सिफारिस सम्बन्धी मापदण्ड, २०८३’ बमोजिम गठित सिफारिस समितिको भदौ ११ गते बसेको बैठकले योग्यता पुगेका पाँच जनाको नाम छनोट गरेको हो ।

सूचना अनुसार अञ्जु मिश्र, गोकर्णमणि दुवाडी, डिल्लीराम शर्मा, बाबुराम अधिकारी र डा. राम प्रसाद घिमिरे सर्टलिष्टमा परेका हुन् ।
कार्यकारी निर्देशक पदका लागि मन्त्रालयले पहिलो पटक २०८३ असार ९ गते, दोस्रो पटक असार २४ गते र तेस्रो पटक भदौ २ गते सूचना प्रकाशित गरी आवेदन आह्वान गरेको थियो ।

म्याद भित्र प्राप्त भएका आवेदनहरूको प्रारम्भिक मूल्याङ्कन गर्दा मापदण्डको दफा ४ बमोजिम योग्यता पुगेका र दफा ५ बमोजिम अयोग्य नदेखिएका उम्मेदवारहरूलाई वर्णानुक्रम अनुसार सूचीकृत गरिएको मन्त्रालयले जनाएको छ ।

सूचीकृत भएका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा छलफलको कार्यतालिका भने पछि प्रकाशन गरिने सूचनामा उल्लेख छ। सिफारिस समितिले यी उम्मेदवारहरू मध्येबाट उत्कृष्ट तीन जनाको नाम सरकारलाई सिफारिस गर्नेछ र मन्त्रिपरिषद्ले एक जनालाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रावधान छ।

ranechhap