वि.सं.२०८३ भदौ १२ शुक्रवार

प्रभावित क्षेत्र पुगेका नेकपा प्रवक्ता ज्वाला भन्छन्, ‘अवस्था भयावह छ, उद्धार कार्यलाई तीव्र बनाइयोस्’

khanepani

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाश ज्वालासहितको टोलीले बाढी प्रभावित विभिन्न क्षेत्रमा पुगेर स्थलगत निरीक्षण गरेर फर्किएको छ।

टोलीले विदुर नगरपालिका–देवीघाट, त्रिशूली तथा आसपासका बाढी प्रभावित क्षेत्रमा पुगेर क्षतिको अवस्था र उद्धार कार्यबारे जानकारी लिएको हो।

त्रिशूली आसपासका क्षेत्रमा बाढीबाट भएको जनधनको क्षति, बेपत्ता नागरिकको अवस्था तथा उद्धार र राहत कार्यको स्थलगत जानकारी लिएको उनले बताए। स्थलगत निरीक्षणपछि प्रवक्ता ज्वालाले बाढीबाट भएको मानवीय क्षति अत्यन्त भयावह र पीडादायी रहेको बताए।

उनले भने, ‘प्रभावित क्षेत्रमा शवहरू छरिएको, घाइतेहरूको अवस्था पीडादायी रहेको तथा आफन्त गुमाएका परिवारको अवस्था अत्यन्त दुःखद् छ। यो घटनाले राष्ट्रिय सङ्कट र ठूलो मानवीय पीडाको अनुभूति गराएको छ।’

अहिलेको प्राथमिकता बेपत्ता नागरिकको खोजी तथा उद्धार, मृतकको शव व्यवस्थापन, घाइतेको शीघ्र उपचार र विस्थापित नागरिकका लागि तत्काल राहत तथा अस्थायी बसोबासको व्यवस्था गर्नु रहेको बताए।

सरकारलाई उपलब्ध सम्पूर्ण जनशक्ति, संयन्त्र र स्रोतसाधन परिचालन गरी उद्धार कार्यलाई तीव्र बनाउन आग्रह गरे। सबै राजनीतिक दल, जनप्रतिनिधि तथा स्थानीय समुदाय एकताबद्ध भएर विपद्को सामना गर्नुपर्नेमा जोड दिए।

बेपत्ता नागरिकको खोजी तथा उद्धारमा पार्टी स्वयं पनि सक्रिय रूपमा केन्द्रित हुने उनले बताए।

ranechhap