वि.सं.२०८३ भदौ २१ आइतवार

पारे शिक्षकले पढाइ ठप्प, क्रान्तिकारीले लगायो इन्जिनियरिङको डीन कार्यालयमा ताला

khanepani

काठमाडौं । अखिल क्रान्तिकारीले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकको डीन कार्यालयमा तालाबन्दी गरेको छ ।

इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आङ्गिक क्याम्पसहरूमा हप्तौंदेखि पठनपाठन अवरुद्ध रहेको विषयलाई लिएर क्रान्तिकारीले तालाबन्दी गरेको हो ।

अखिल क्रान्तिकारीको प्राविधिक शिक्षा विशेष जिल्ला समितिले विद्यार्थीहरूको शिक्षामा भइरहेको लापरबाही तथा विद्यमान समस्या समाधान गर्न प्रशासनले कुनै ठोस कदम नचालेको भन्दै विरोध र दबाब स्वरुप तालाबन्दी गरेको जनाएको छ ।

यसअघि ज्ञापनपत्रमार्फत् डीनसमक्ष आफ्ना मागहरू राख्दासमेत त्यसलाई बेवास्ता गरिएकाले तालाबन्दी गर्नुपरेको क्रान्तिकारीले जनाएको छ ।

अखिल क्रान्तिकारीले आन्दोलनरत पक्षसँग तत्काल वार्ता गरी आङ्गिक क्याम्पसहरूमा पठनपाठन सुचारु गर्न, तोकिएको शैक्षिक क्यालेन्डर अनुसार नै परीक्षा सञ्चालन गर्न, प्राविधिक संस्थाभित्रका गैरप्राविधिक गतिविधिहरूमा तत्काल रोक लगाएर आगामी दिनमा त्यस्ता प्रकारका क्रियाकलाप दोहोरिन नदिन माग गरेको छ ।

क्रान्तिकारीले विज्ञप्ति जारी गर्दै इन्जिनियरिङ अध्ययन संस्थान प्रशासनले समस्या समाधान तथा पठनपाठन सुचारु गर्ने विषयमा गम्भीरता नदेखाएमा अझै कठोर आन्दोलनका कार्यक्रमहरू अगाडि बढाइने चेतावनीसमेत दिएको छ ।

त्रिवि, इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका पुल्चोक क्याम्पस, थापाथली क्याम्पस, पूर्वाञ्चल क्याम्पस, पश्चिमाञ्चल क्याम्पस र चितवन क्याम्पसका शिक्षकहरूले आफ्नो आर्थिक स्वायत्तता र विकेन्द्रीकरणको अधिकार खोसिएको भन्दै असार २५ गतेदेखि पठनपाठन ठप्प पारी आन्दोलनमा उत्रिएका छन् ।

ranechhap