काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान, घोपाको निर्देशक नियुक्तिमा चलखेल भएको भन्दै जेनजी युवाहरु आन्दोलित बनेका छन् ।
रातारात कार्यविधि संशोधन गरेर, भोटेकोशी बाढीको मौका छोपी स्वास्थ्यमन्त्री निशा मेहताले डा. इन्द्रकुमार लिम्बुलाई नियुक्ति दिएइएको आन्दोलनकारीको भनाइ छ ।
गत १७ गतेबाट जारी आन्दोलनको नेतृत्व गरिरहेका जेनजी अगुवा नवीन राईले ‘एडिसनल प्रोफेसर’ हुँदाहुँदै ‘असोसियट प्रोफेसर’लाई निर्देशक बनाउन रातारात कार्यविधि संशोधन गरिएको आरोप लगाए ।
यस विरुद्ध हेल्लो सरकारमा दिएको उजुरी पनि स्वास्थ्य मन्त्रालयले हेर्न नमिल्नेमा राखिदिएको उनको दाबी छ ।
‘मन्त्रालयमा बुझ्न खोज्दा स्वास्थ्यमन्त्रीको पिए अन्शु खनालले अहिले बाढीले गर्दा नियुक्ति हुँदैन, हामी फाइल हेरेर मात्र काम गर्छौं भन्नुभयो,’ राईले भने, ‘हामीले मन्त्रीलाई भेट्न खोज्दा एक साता भेट्न मिल्दैन भनिन् । त्यसो भनेर फिरेकै रात इन्द्रकुमार लिम्बुलाई निर्देशक बनाइयो ।’
नवीनका अनुसार लिम्बु नेपाली कांग्रेसनिकट छन् । स्वास्थ्यमन्त्री निशा मेहताका सहोदर दाइ राजन मेहता नेपाली कांग्रेसका नेता हुन् ।
इनरुवा नगरपालिकाका पूर्वमेयर मेहता जिल्ला समन्वय समितिका प्रमुख हुन् ।
नवीनले भने, ‘उहाँहरु (इन्द्र र राजन) कलेजदेखिका मिल्ने साथी हुन् । इन्द्रको नियुक्तिमा उनीहरुको पार्टी अलग भए पनि स्वार्थ र सम्बन्ध मिलेको छ ।’
गत शुक्रबार आफूहरुले प्रशासनभित्र नाराबाजी गर्दा प्रहरी लगाएर धरपकड गरिएको उनले बताए ।
उनी भन्छन्, ‘हाम्रो माग भनेको घोपाको अवैधानिक नियुक्ति खारेज हुनुपर्यो । अब हुने प्रक्रियामा पुरानै मापदण्ड लागु गरेर जेनजीको सहभागितामा निर्देशकको नियुक्ति हुनुपर्यो । सबैभन्दा पहिले चाहिँ स्वास्थ्यमन्त्रीले राजीनामा दिनुपर्यो ।’
गत १६ गते साँझ भोटेकोशी बाढीकै कहरबीच निर्देशकको नियुक्ति गरिएको थियो ।








































