काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालले लुम्बिनी प्रदेशका आफ्ना प्रदेश सभा सदस्यलाई कारबाही गरेको बारेमा निर्वाचन आयोगलाई जानकारी गराउने भएको छ ।
जसपा नेपालको शुक्रबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेश सभाका चार जना प्रदेश सभा सदस्यलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो । कारबाहीको बारेमा सोमबार निर्वाचन आयोगलाई लिखित रूपमा जानकारी गराउने जसपा नेपालका महासचिव डा.सुरेन्द्र झाले बताए ।
पार्टीको निर्देशन विपरीत नेपाली कम्युनिस्ट पार्टी र एमाले गठबन्धनको सरकारमा सहभागी भएको आरोपमा जसपा नेपालले पार्टीका तर्फबाट निर्वाचित प्रदेश सभा सदस्यहरू रुपन्देही निर्वाचन क्षेत्र नं ३ (१) बाट निर्वाचित सन्तोष कुमार पाण्डेय, समानुपातिक निर्वाचन तर्फबाट निर्वाचित हेमा वेल्वासे, बाँके निर्वाचन क्षेत्र नं. २ (१) बाट निर्वाचित भण्डारीलाल अहिर र बाँके निर्वाचन क्षेत्र नं. २ (२) बाट निर्वाचित आदेशकुमार अग्रवाललाई पार्टी साधारण सदस्यबाट समेत निष्कासन गरेको छ ।
सोही अनुसार जसपा नेपालले पार्टीबाट निष्कासित भइसकेकाहरू आफ्नो पार्टीको प्रदेश सभा सदस्य नरहेको जानकारी निर्वाचन आयोगलाई जानकारी गराउने छ ।








































