काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र नेता गगन थापाबिच आज दिउँसो १२ः ३० बजे भेटघाट भएको छ। भेटका क्रममा दुई नेताबिच कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा विस्तृत कुराकानी भएको छ।
भेटमा डा.शेखर कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस पार्टी एक ढिक्का हुनुको विकल्प नरहेको औँल्याएका छन् । यसका लागि आफ्नो तर्फबाट जे–जति त्याग गर्न पनि आफू तयार रहेको उनले स्पष्ट पारे। जवाफमा नेता थापाले आफू पनि पार्टी एकताकै पक्षमा अडिग रहेको बताए।
साथै, उनीहरूबिच गत २०८३ भदौ १० गते नेपाल–चीन सिमाना रसुवामा आएको विनाशकारी बाढी र त्यसपछि रसुवा, नुवाकोट र धादिङको पछिल्लो अवस्थाका बारेमा पनि गम्भीर छलफल भएको छ। बाढीपछिको जनजीवन र राहतका विषयमा नेताद्वयले चासो व्यक्त गरे ।
डा.शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार सो भेटघाटमा पार्टीको आगामी कार्यदिशा र विपद् व्यवस्थापनका विषयमा समेत कुराकानी भएको जानकारी दिइएको छ।







































