काठमाडौँ । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले प्रधानमन्त्रीको कथनी र करणीमा फरक रहेको आम गुनासो रहेको भन्दै घुसको डिल प्रकरणमा त्यस्तो नगर्न सुझाएकी छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै सांसद गौतमले प्रधानमन्त्री ओलीलाई घुस डिल प्रकरणमा कथनीमा जस्तै करणीमा पनि खरो रूपमा उत्रिन सुझाव दिइन् ।
‘हाम्रो सरकार प्रमुखले सगौरब भन्ने गर्नुहुन्छ म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न तर विडम्बना हालै मात्र मन्त्रीपरिषद्का सदस्य संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस डिल गरिरहेको अडियो संवाद सार्वजनिक रुपमा छताछुल्ल भएको छ,’ गौतमले भनिन्, ‘ यसरी छताछुल्ल भएको अडियोमा अर्को मन्त्रीको पनि संलग्नता बारे बोलेको सुनिन्छ । यो सार्वजनिक चासो र चिन्ताको विषय बनेको छ । आम लोकले प्रधानमन्त्रीको कथनी र करणीमा फरक गरिरहेका छन् । यहाँ कथनीमा जस्तै करणीमा खरो रूपमा उत्रनुहोस् ।’
सांसद गौतमले प्राकृतिक विपत्तिमा सरकारको पूर्वतयारीदेखि राहत तथा उद्धार कार्य सुस्त र असङ्गठित देखिएको बताइन् । उनले पहिरो बाढी र डुबान हाम्रो प्रत्येक वर्षका पीडा भएपनि सरकारले प्रत्येक वर्ष उही सङ्कटमा परेर टालटुल उपाय गर्दै आएको आरोप लगाइन् ।
‘प्रत्येक वर्ष यस्ता आपत् आइरहँदा राज्यको नीति पूर्वतयारी र जोखिम न्यूनीकरण किन प्रभावकारी हुन सकेन ? सरकारको विपत् व्यवस्थापन संरचना कागजमा बलियो तर कार्यान्वयनमा बिलम्ब समन्वय विहीन छ । यो नीतिगत असक्षमता हो कि उपेक्षा हो,’ गौतमले भनिन्, ‘यस वर्ष झनै धेरै वर्षा हुने अनुमानको साथ २० लाख मानिस प्रभावित हुने भनिएको छ, सरकारको गम्भीरता खै ?’









































