काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशक पदका लागि उम्मेदवारको शैक्षिक योग्यता र कार्यक्षेत्रको दायरा फराकिलो बनाउनुपर्ने बताएकी छन्।
सोमबार संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथिको छलफलमा भाग लिँदै उनले यस्तो धारणा राखेकी हुन्।
कार्यकारी निर्देशक पदका लागि फरेन्सिक मेडिसिनमा मात्र सीमित हुन नहुने उनको भनाइ छ। उनले चिकित्सा विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र भौतिक विज्ञानजस्ता विधाहरूमा स्नातकोत्तर गरेका दक्ष जनशक्तिलाई पनि समेट्नुपर्ने तर्क गरिन्। कुनै एक विधामा मात्र सीमित रहँदा योग्य उम्मेदवारको अभाव हुन सक्ने र छनोट प्रक्रिया खुम्चिने उल्लेख गर्दै उनले सक्षम जनशक्तिलाई अवसर दिनुपर्ने बताइन्।
कार्यकारी निर्देशकको उमेर हदका बारेमा चर्चा गर्दै डा. कार्कीले ६० वर्षको सीमालाई परिवर्तन गर्न नहुने पक्षमा आफ्नो मत राखिन्। नयाँ पुस्ताले कम उमेरमै उच्च शैक्षिक योग्यता र सफलता हासिल गरिरहेको उल्लेख गर्दै उनले नयाँ तथा अपडेटेड पुस्तालाई नेतृत्वमा आउने अवसर प्रदान गर्नुपर्ने उल्लेख गरिन्।
कार्यकारी निर्देशकका लागि आवश्यक १० वर्षको कार्य अनुभवका सम्बन्धमा स्पष्ट पार्दै डा. कार्कीले भनिन्, ‘सम्बन्धित क्षेत्रमा स्नातकोत्तर गरेपछि हासिल गरेको अनुभवसँगै चिकित्सकहरूको हकमा इन्टर्नसिप र सुरुवाती चरणदेखिको कार्य अनुभवलाई पनि गणना गरिनुपर्छ।’
प्रमाणपत्र भन्दा कार्य अनुभव बढी महत्त्वपूर्ण हुने उनले बताइन्। ६० वर्ष कटेका अनुभवी व्यक्तिहरूलाई कार्यकारी भूमिकामा भन्दा पनि सल्लाहकारका रूपमा नियुक्त गरी उनीहरूको अनुभवबाट लाभ लिन सकिने उनको सुझाव थियो।
बैठकमा विधेयकका अन्य प्रावधानहरू र प्रयोगशालालाई आधुनिक एवं वैज्ञानिक ढङ्गले सञ्चालन गर्ने विषयमा समेत दफावार छलफल भएको छ।






































