काठमाडौं । राप्रपा सांसद ज्ञानबहादुर शाहीले जन्मदेखि आजको दिनसम्म आफ्नो शरीरमा एक थोपा मदिरा प्रयोग भएको भए सांसद पदबाटै राजीनामा दिने घोषणा गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्ने क्रममा सांसद शाहीले आफूविरुद्ध भ्रामक आरोपहरू फैलिरहेको जानकारी गराउँदै यस्तो घोषणा गरेका हुन् ।
मदिरा सेवन गरेर जे पनि बोल्यो, अश्लील भिडियोहरू आयो भन्ने खालका आरोपहरू आफूमाथि लागेको उनले बताए ।
साथै, नेपालका पहिलो प्रधानमन्त्री भिमसेन थापाले गलत र भ्रामक सूचनाकै कारणले आफ्नो घाँटी आफैंले रेटेर आत्महत्या गरेको उल्लेख गर्दै आफू पनि त्यही अवस्थामा पुगेको समेत बताए ।
‘यो संसद्मा म आज आफैंलाई अग्निपरीक्षा दिन उभिइरहेको छु । यो मेरोमात्रै होइन, नेपालको धेरैजसोको समस्या हो,’ सांसद शाहीले भने, ‘नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापाले गलत र भ्रामक सूचनाका कारण आफैंले घाँटी रेटेर आत्महत्या गरेको इतिहास छ । आज त्यस्तै अवस्था म माथि आइपरेको छ । खाइ न पाइ छालाको टोली लाइ भनेजस्तो उखान चरितार्थ भएको छ ।’
उनले चुनौती दिँदै संसद्कै चिकित्सकको टोलीबाट आफ्नो शरीरको प्रत्येक अंग परीक्षण गर्नसमेत आग्रह गरे ।
‘आज ममाथि गम्भीर किसिमको आरोप लागेका छन् । रक्सी खाएर जे पायो त्यही बोल्यो, अश्लील भिडियोहरू आए भन्ने आरोप लगाइएका छन् । म सिंगो देशलाई साक्षी राखेर यो संसद्को रोष्ट्रममा उभिएर प्रतिनिधिसभाको एक सांसदको हैसियतले सम्माननीय सभामुख र सिंगो संसद्सँग अपिल गर्न चाहन्छु, यही संसद्मा स्वास्थ्य विभाग छ ।
स्वास्थ्यकर्मीसहितको टोली राखियोस्,’ सांसद शाहीले भने, ‘चिकित्सकको टोलीबाट मेरो शरीरको प्रत्येक अंग जाँचियोस् । मेरो रगतदेखि छालासम्म परीक्षण गरियोस् । जन्मदेखि अहिलेसम्म मदिराको एक थोपामात्रै पनि मेरो शरीरमा कहीँ प्रयोग भएको र कतै देखियो भने म सांसद पदबाट राजीनामा दिन तयार छु । होइन भने यही संसद्का सदस्यहरू अल्गोरिदम फैलाउँदै आरोप फैलाउँदै गर्नेहरूको पनि स्वास्थ्य परीक्षण गरियोस् ।’






































