काठमाडौ । आफ्ना दक्ष जनशक्ति अधिकांश जहाज दुर्घटनामा गुमाउनु परेपछि सौर्य एयरलाइन्सको उडानहरू अन्यौलमा परेको छ । यही साउन ९ गते त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा पाइलटमात्र जोगिएका थिए ।
त्यसमा अधिकांश सौर्यका दक्ष प्राविधिक जनशक्ति थिए । सौर्यको सञ्चालन अनुमति सकिएपनि एओसी (उडान सञ्चालन अनुमति) अझै वैध रहेको र एओसीका लागि चाहिने मापदण्ड पूरा गर्न दक्ष जनशक्ति आवश्यक पर्छ । तर, अहिले जनशक्ति अभावकै कारण सौर्यले उडान भर्न नपाउने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
यद्यपि अनुमतिपत्रका लागि भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिइसकिएको छ । अनुमति दिने/नदिने विषय मन्त्रालयले प्राधिकरणलाई सोधेको सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । अब सौर्यले प्राविधिकसहितका जनशक्ति भर्ना गरेपछि मात्र एओसीको मापदण्ड पूरा हुनेछ ।