वि.सं.२०८३ भदौ १० बुधवार

कक्षाकोठामै लेदोसहितको बाढी पसेपछि तीन दिनदेखि विद्यालय बन्द

khanepani

काठमाडौ । काठमाडौ लेदोसहितको बाढी कक्षाकोठामै पसेपछि प्युठानको एउटा विद्यालयमा तीन दिनदेखि पठनपाठन रोकिएको छ।

प्युठानको प्युठान नगरपालिका–१० बुढादेवीमा रहेको सिर्जनशील तारा आवासीय विद्यालयमा लेदोसहितको बाढी पसेपछि तीन दिनदेखि पठनपाठन रोकिएको हो।

वडाध्यक्ष लोकबहादुर केसीका अनुसार बुधबार बिहान विद्यालयमा लेदोसहितको बाढी पसेको थियो।

अहिले दुइटा डोजर लगाएर लेदो फाल्न लागिएको पनि वडाध्यक्ष केसीले जानकारी दिए। साथै वरपर रहेको घर र वस्तीहरू जोगाउनका लागि तारजाली लगाउने काम पनि भइरहेको उनले बताए।

लेदो पसेको विद्यालयमा पाँच कक्षासम्म पढाइ हुन्छ भने त्यहाँ ६०/७० जना विद्यार्थी र ७ जना शिक्षक रहेको वडाध्यक्ष केसीले बताए।

‘पानी पर्‍यो भने फेरि बाढी आउँछ। त्यसकारण अहिलेलाई विद्यालय बन्द गरेका हौं,’ उनले भने।

वडाध्यक्ष केसीका अनुसार विद्यालय नजिक भुस्वाङ र चुन्द्री खोला छन्। पहिले पहिले बाढी मात्रै आउने खोलामा अहिले लेदोसहितको बाढी आउँदा तटीय क्षेत्रमा रहेका धानखेतहरू समेत बगरमा परिणत भएका छन् भने वरपर रहेका घरहरू खतरामा छन्।

‘तीन वर्षअघि बाटो खन्दा माटो किनारमै थियो। पोहोर सालको बाढीले अलिअलि बगायो। बाँकी भएको माटो यसपालि बगाउँदा लेदोसहितको बाढी आयो,’ उनले भने।

वडाध्यक्ष केसीले बाढी पहिरोबाट सुरक्षित हुने स्थिति बनेपछि विद्यालय खुल्ने बताए।

ranechhap