वि.सं.२०८३ भदौ १० बुधवार

जलवायु परिवर्तनको मूल्य नेपालले चुकाउनुपरेको छ, जलवायु कूटनीतिमा जोड दिऔँ : खुश्वु ओली

khanepani

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुश्वु ओलीले रसुवामा आएको विनाशकारी बाढीलाई केवल एउटा प्राकृतिक घटना मात्र नभई राष्ट्रिय त्रासदीको रूपमा लिँदै सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधि सभाको बुधबारकाे बैठकमा उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको हिमताल विस्फोटको जोखिमप्रति चिन्ता व्यक्त गरिन्।

ओलीले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि यसको असर भने नेपालले नै बढी भोग्नुपरिरहेको बताइन्। ‘जलवायु परिवर्तन सिर्जना गर्न नेपालको भूमिका छैन, तर यसको मूल्य सबैभन्दा कम जिम्मेवार देश र समुदायले चुकाउनुपरेको छ,’ उनले भनिन्।

नेपाल जस्ता पर्वतीय मुलुकहरूले भोगिरहेको यो जलवायु अन्यायलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा सशक्त रूपमा उठाउन उनले सरकारलाई सुझाव दिइन्।

उनले विपद् व्यवस्थापन र भविष्यको जोखिम न्यूनीकरणका लागि सरकारसमक्ष जोखिमयुक्त हिमतालहरूको नियमित अनुगमन र वैज्ञानिक अध्ययन गर्न, प्रभावकारी पूर्व सूचना प्रणालीको विकास गर्न, जलवायु प्रतिरोधी पूर्वाधार निर्माणमा जोड दिन, जोखिममा रहेका बस्तीहरूको पूर्वतयारी र सुरक्षित स्थानान्तरणको व्यवस्था गर्न र नेपालको जलवायु कूटनीतिलाई प्रभावकारी बनाई अन्तर्राष्ट्रिय स्रोत र प्रविधि सुनिश्चित गर्न उनले माग गरिन् ।

विपद्को यस घडीमा सरकारले गर्ने हरेक उद्धार र राहतका कार्यमा राप्रपाको पूर्ण समर्थन र सहयोग रहने उनले प्रतिबद्धता व्यक्त गरिन्।

ranechhap