29, May, 2024

पत्रकारमाथिको दुर्व्यवहार : किटानी जाहेरी लिन इलाका प्रहरी कार्यालयको आलटाल

बागमती भ्वाइस
बागमती भ्वाइस
२ चैत्र २०८०, शुक्रबार १५:३४ | २ महिना अगाडी

विराटनगर । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले पत्रकार कृष्ण बहाबमाथि भएको दुर्व्यवहारको किटानी जाहेरी लिन आलटाल गरेका छन् ।

समाचार संकलनका क्रममा बहाबमाथि बिहीबार इटहरी उपमहानगरका नगर प्रहरीले मोबाइल खोस्दै दुर्व्यवहार गरेका थिए । सिटी सफारी चालकहरूको आन्दोलनको फोटो र भिडिओ खिच्दै गर्दा नगर प्रहरीले मोवाइल खोस्दै दुर्व्यवहार गरेका थिए ।

सो विषयमा बहाबले बिहीबार इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी दिएका थिए । तर अहिलेसम्म जाहेरी दर्ता भएको छैन । पत्रकार महासंघको नेतृत्वमा गएको पत्रकारहरूको टोलीसँग डीएसपी कार्कीले आफू प्रक्रियामा रहेको भन्दै जाहेरी दर्ता गर्न आलटाल गरेका थिए ।

प्रहरी नायब उपरीक्षकले जाहेरी दर्ता गर्न नमानेपछि पत्रकार महासंघले आइतबारसम्मको अल्टिमेटम दिएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अम्बर खड्काले आइतबार १२ बजेसम्म जाहेरी दर्ता नभए प्रहरीविरुद्ध पत्रकार महासंघ आन्दोलनमा उत्रने बताए ।

उनले भने, ‘हामी आइतबारसम्म समय दिन्छौ । सो अवधिमा दोषीलाई कारबाही प्रक्रिया अगाडि बढाइयोस् ।’ पत्रकार महासंघ सुनसरीका सचिव ध्रुव ढकालले पत्रकारको माग सम्बोधन नगरे धर्ना लगायतका विरोधका कार्यक्रम अगाडि सार्ने बताए ।

यसैबीच इटहरीका पत्रकार कृष्ण बहाब भट्टराईमाथि भएको घटनाको संसदीय पत्रकार मञ्च कोशी प्रदेशले विरोध जनाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही गरी कानूनी दायरामा ल्याउन माग गरेको हो । म

ञ्चका अध्यक्ष कुमार लुइँटेल र सचिव सुमन सुस्केराद्वारा जारी विज्ञप्तिमा इटहरी उपमहानगरपालिकाको गेटमा सिटी सफारी चालकहरूको आन्दोलनको रिपोर्टिङ गर्न गएका पत्रकार भट्टराईमाथि लक्षित गरी नगर प्रहरीले धक्का मुक्का गर्दै रिपोर्टिङमा प्रयोग भएको मोबाइल समेत खोस्ने कार्यको मञ्च खेद प्रकट गरेको हो ।

‘आफू पत्रकार भएको परिचय दिँदासमेत उल्टै गालीगलौज सहित दुर्व्यवहार र धम्की दिइएको विषय सामान्य हुनै सक्दैन’, विज्ञप्तिमा भनिएको छ, ‘जाहेरी दिन गएका पत्रकार भट्टराईको जाहेरी समेत नलिनुले घटनालाई थप शङ्कास्पद बनाएको छ ।’

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीले घटनालाई सामान्य रूपमा लिई जाहेरी दर्ता नगरेको विषयलाई समेत मञ्चले गम्भीर रूपमा लिँदै डीएसपी कार्कीको नियतमाथि समेत प्रश्न उठाएको छ ।

इटहरी उपमहानगरपालिकाबाट दोषीलाई कार्वाहीको लागि प्रारम्भिक छानबिन समिति गठन भइसकेको स्थितिमा प्रहरीले जाहेरी दर्ता गर्न नमान्नुले कानूनी राज्यको उपहास भएको मञ्चले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘नीति, विधि, कानून र सिद्धान्तको निर्माण र कार्यान्वयन गराउने निकायहरू नै आलोचित हुनु राम्रो हैन, विज्ञप्तिमा भनिएको छ, यो रवैयाको आलोचना गर्दै यस्ता गतिविधि रोक्न माग गर्दछौँ’, तत्काल दोषीलाई कारबाही गरी निजलाई कानुनी दायरामा ल्याउन मञ्चले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ ।

२ चैत्र २०८०, शुक्रबार १५:३४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading