काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विदुषी राणाले हिमाल तथा हिमनदीको निगरानी, सीमापार पूर्वसूचना प्रणाली तथा जलवायु अनुकूलनका संरचना निर्माणलाई राष्ट्रिय प्राथमिकता बनाउन सरकारसँग माग गरेकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विश्वव्यापी जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने क्रम तीव्र बनेको भन्दै हिमनदी र हिमालको संरक्षण तथा निगरानीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएकी हुन्।
रसुवाको भोटेकोशीमा आएको बाढी विपद्को एउटा घटना मात्र नभई हिमालयले दिएको चेतावनी भएको धारणा उनले राखिन्।
वैज्ञानिक अध्ययन अनुसार हिन्दुकुश हिमालयमा सन् २००० यता हिमनदी पग्लिने गति झन्डै दोब्बर भएको र हालकै उत्सर्जनको क्रम जारी रहे यस शताब्दीको अन्त्यसम्म हिमनदीको आयतन ८० प्रतिशतसम्म गुम्न सक्ने चेतावनी सांसद राणाले दिइन्। उनले भनिन्, ‘रसुवाको विनाशकारी बाढी केवल एउटा दुर्घटना होइन। यो हिमालयले हामीलाई दिएको एउटा चेतावनी हो।’
अध्ययनको प्रसङ्ग जोड्दै उनले थपिन्, ‘अहिलेको उत्सर्जनको क्रम जारी रहे यस शताब्दीको अन्त्यसम्म हिमनदीको आयतन ८० प्रतिशतसम्म गुम्नसक्ने चेतावनी दिएको छ। विडम्बना, विश्वको हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ० दशमलव १ प्रतिशत मात्र छ। त्यसको मूल्य हामी जीवन, बस्ती र पूर्वाधारबाट तिरिरहेका छौँ।’
हिमनदी र हिमालको प्रत्यक्ष निगरानी, सीमापार पूर्वसूचना प्रणाली र जलवायु अनुकूलन संरचना निर्माणलाई राष्ट्रिय प्राथमिकता बनाउनुपर्नेमा उनले जोड दिइन्। यसका साथै सरकारले जलवायु न्यायका लागि कूटनीतिक पहल गर्नुपर्ने धारणा पनि उनले व्यक्त गरिन्।







































