काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद बलावती शर्माले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग र गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै शर्माले सामाजिक सञ्जाल प्रतिबन्ध, सुशासन र तत्कालीन सत्ताका बेथितिविरुद्ध जेनजी पुस्ताले गरेको आन्दोलन पवित्र रहेको बताएकी हुन्।
२४ भदौमा मुलुकका सम्पूर्ण धरोहर र निजी सम्पत्तिमाथि भएको आगजनी तथा लुटपाटका घटनाको जिम्मेवारी कसले लिने भन्दै उनले प्रश्न समेत उठाएकी छन्।
प्रतिनिधि सभामा बोल्दै शर्माले २४ भदौको विध्वंस सत्तारोहणको भर्याङ मात्र थियो वा अन्य कुनै उद्देश्यले भएको थियो भन्ने विषय स्पष्ट हुनुपर्ने धारणा राखिन्। उनले भनिन्, ‘सामाजिक सञ्जाल प्रतिबन्ध, सुशासन र तत्कालीन सत्ताका बेथितिविरुद्ध जेन-जीहरूले गरेको आन्दोलन पवित्र थियो।
’ २४ भदौमा देशका धरोहर र निजी सम्पत्तिमाथि भएको घटनाबारे प्रश्न गर्दै उनले थपिन्, ‘शान्तिपूर्ण भन्दै देशका धरोहरसँगै निजी सम्पत्तिमाथि भएको आगजनी, लुटपाटको घटना के थियो? यसको जिम्मा कसले लिने? के यो सत्तारोहणको भर्याङ मात्र थियो कि अरू कुनै?’ मानव अधिकार आयोग र कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले जेन-जी शहीदका परिवार र घाइतेका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराइन्।







































